धाप परियोजनाको काम अन्तिम चरणमा, कात्तिकबाट बागमतीमा सफा पानी

बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ ।

काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)कै आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ ।

समुद्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ । साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ ।

सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो । यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ ।

आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए । उनले बागमतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरूको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताए । उनले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको बताए ।

धापबाट बागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको बताए ।

एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान सुरु भएको उनले बताए । उनले मुख्य ड्याम र सहायक ड्यामहरू पनि निर्माण भई पानी जम्मा गर्न सुरु गरिएको बताए । सुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्योभन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताए । उनले धाप क्षेत्र पर्यटन प्रवर्द्धनको लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको बताए । जसकरण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

भ्याटबाहेक ४५ करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपैयाँ बढी रकममा धाप निर्माण सुरु गरिएको उनले बताए । उनले अक्टोबर १५ पछि बागमतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख गरे । ८ महिना ४० लिटर बगाउन सक्ने अनुमान गरेर धाप निर्माण गरे पनि नागमती धाप निर्माण नहुँदासम्म योजनाअनुसारको पानी प्रवाह गर्न नसकिने उनले बताए ।

उनले बागमती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउन सक्ने र सीमित पानीले अनुभव गर्नसक्ने गरेर बागमतीमा पानी प्रवाह नहुने बताए । धापबाट पठाएको पानी पशुपति आर्यघाटमा आम सर्वसाधारणहरूले पनि प्रयोग गर्ने गरेर पठाउनुपर्ने उनको भनाइ छ । पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरूमा ४ सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको बताए ।

प्रमुख इन्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको पनि बताए । धाप ड्याममा जम्मा भएको पानी नागमतीको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा बागमतीमा मिसिन्छ । यो पानीबाट विद्युत् निकाल्ने उद्देश्य रहेको छ भने बागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ ।

प्रस्तावित नागमती बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नागमती ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगपालिकाको पर्यटन व्यवसाय फस्टाउने सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर