समानुपातिकतर्फको बन्दसूची सकभर आजै बुझाइसक्न निर्वाचन आयोगको दलहरूलाई आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समानुपातिकतर्फको बन्दसूची सकेसम्म आजै बुझाइसक्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले आज अपरान्ह ५ बजेभित्र आयोग परिस भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाए राम्रो हुने धारणासमेत राखे । आयोग परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले राजनीतिक दलहरूले आजै सो सूची बुझाउन नसके भोलि (मंगलबार) बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताए । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरूले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उनको भनाइ थियो ।

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि हिजो र आज दुई दिनको समय दिएको थियो ।

निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरूलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नामहरू सच्याउनका लागि पत्राचार गर्ने र १६ गतेभित्र सच्याएर ल्याउन समय दिनेछ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

उनका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ । सार्वजनिक भएको ती नामावलीअनुसार दलहरूले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरू निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ ।

निर्वाचन ऐन, कानून र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचनसम्बन्धी सबै कामहरू अघि बढाउन प्रतिबद्ध भएर लागि परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर