मुलुकको वर्तमान अर्थतन्त्रले आन्तरिक उत्पादनमा वृद्धि खोजेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन् ।

मंगलबार कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोष स्थापना भएको ४८ वर्ष पुग्दा पनि योजनाविहीन देखिएको भन्दै नयाँ योजनाबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले कोषलाई योजनामा ध्यान दिन र प्रिमियमा मात्रै फोकस नहुन सुझाव दिए ।

गभर्नर अधिकारीले कोषको काम पैसा संकलन गर्ने काम मात्रै नभएको बताए । उनले कोषको इन्स्योरेन्सको डिपोजिट प्रभावकारी नभएको बताए । उनले राष्ट्र बैंकले आन्तरिक उत्पादन बढाउने विषयमा केन्द्रित भएर कर्जा योजनामा निर्देशन गरेको भन्दै कोषले ब्रिजको काम गर्नुपर्ने बताए ।

गभर्नर अधिकारीले कोषले ऐनले दिएको कार्यक्षेत्रभित्र बसेर गर्नसक्ने नयाँ पाँचवर्षे योजना बनाएर काम गर्न सुझाव दिए । उनले ऐनले नदिएको भए ऐन संशोधनको प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रले आन्तरिक उत्पादन, कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूले स्टार्टअप, साना उद्यम, कृषि उत्पादनमा कर्जा जोखिम देखेर लगानी गर्ने नगरेको बताए ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले उत्पादन क्षेत्रमा लगानी जोखिमको सुरक्षण गर्ने नीति ल्याएको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूको आफ्नै किसिमको नीति भएकाले सरकारले वा अर्थतन्त्रले चाहेको ठाउँमा कर्जा दिन नसक्ने अवस्था आउने बताए । उनले बैंकहरूले कर्जा सहज रूपमा रिटर्न आउने, लगानी सुरक्षित हुने सहज क्षेत्रमा लगानी गर्ने गरेको बताए ।

गभर्नर अधिकारीले अर्थतन्त्रले अहिले आन्तरिक उत्पादन वृद्धि खोजिरहेकाले राष्ट्र बैंकले अर्थतन्त्रको आवश्यकताअनुसार कर्जा नीति बनाउँदै आएको बताए । उनले राष्ट्र बैंकले अहिले बैंकहरूको कुल कर्जा लगानीको १५ प्रतिशत साना लघु, घरेलु तथा साना उद्योग, कृषिमा र १० प्रतिशत जलविद्युतमा लगानी अनिवार्य गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *