देशभर सुपथ मूल्य पसलको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले दशैं, तिहार, छठजस्ता पर्वहरुका लागि देशभर सुपथ मूल्य पसलहरुको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

दशैं, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए ।

बैठकले दशैंका लागि घर जाने यात्रुहरूको लागि सहज ढंगले टिकट पाउने गरी काउन्टरहरूको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । समितिले सवारी साधनको भाडादर जथाभावी लिन नपाउने गरी अनुगमनको काममा कडाइ गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको छ । शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति पन्थले बताए ।

बैठकमा समितिका सदस्यहरूले चाडबाडको बेला दुर्घटना हुन नदिने गरी ट्राफिक प्रहरी परिचालन गर्न सरकारलाई सचेत गराएका थिए । सांसद एवम् पूर्वगृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा मजबुत बनाउन र सवारी दुर्घटना हुनै नदिने गरी राजमार्गहरूमा प्रहरी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

समितिकी अर्की सदस्य नन्दा चपाईंले सवारी दुर्घटनाबाट नागरिकको जीवन जोगाउनका लागि सरकारले गाडी चालकहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने बताइन् । उनले दण्ड र जरिवानाले मात्रै सवारी साधनलाई दुर्घटना हुनबाट जोगाउन नसकिनेतर्फ पनि सरकारलाई सचेत गराइन् ।

समितिका सदस्यहरूले कालोबजारी नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर