विद्युत निर्यात गर्ने प्राधिकरणको उद्देश्य होइन : कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् ।

मंगलबार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभई नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे । उनले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गरे ।

घिसिङले विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताए । उनले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्‍याउने बताए ।

घिसिङले विद्युत निर्यात गरेर भन्दा विद्युत खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गरे । उनले विद्युत प्राधिकरणले पछिल्लो एक सय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेको बताए ।

घिसिङले विश्वमा विद्युत संकट भएर युरोपमा १ युनिट विद्युतको करिव १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गरे । उनले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताए ।

घिसिङले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिब ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताए । उनले विद्युत कम मूल्यको खपत भए पनि धेरै मूल्य बराबरको आयातलाई कम गराउनसक्ने बताए ।

उनलले अब विद्युतीय चार्जिङ स्टेशन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता रहेको बताए । उनले चार्जिङ स्टेशन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताए । घिसिङले निजी क्षेत्रले चाजिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत र ट्रान्सफर राखिदिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर