आईएमई ग्रुप र यूएनसीडीएफबीच डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्ने सम्झैता

आईएमई ग्रुपले युनाइटेड नेशन क्यापिटल डेभलपमेण्ट फण्ड (यूएनसीडीएफ) को सहकार्यमा डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्नका लागि समझदारी भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच आईएमई गु्रप र यूएनसीडीएफबीच समझदारी भएको हो । सम्झौताअनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन सहकार्य गर्ने भएका हुन् । सम्झौतामा विशेषगरी महिला रेमिटेन्स प्राप्त कर्ताहरूका समस्याहरूको न्यूनीकरण गर्ने विषयमा बढी केन्द्रित हुनेछ ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामीण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउनसमेत सम्झौताले सहजता ल्याउने बताए । उनले महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने मुख्य उद्देश्य गु्रपको रहेको बताए ।

उनले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास रहेको बताए । निर्देशक ढकालले यूएनसीडीएफसँगको सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारहरूलाई रेमिट्यान्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने बताए ।

सन् २०२१ को सुरुवातदेखि आईएमई र यूएनसीडीएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आइरहेका छन् । सर्वेक्षण एवम् अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र रेमिट्यान्स प्राप्तकर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य रहेको आईएमईले बताएको छ ।

आईएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा मोबाइल वालेट सेवाहरू संयोजन गरी नेपालमा रेमिटेन्स आप्रवाहको अवस्थालाई झनै सहज बनाउँदै आएको छ । कोभिड–१९ को महामारी र त्यसको परिणामस्वरूप आइएमईले डिजिटल रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आइरहेको छ । तुलनात्मक रूपमा डिजिटल वालेटमा महिलाको कमजोर पहुँचका कारणले बहुसंख्यक महिला रेमिटेन्स प्राप्त कर्ता प्रभावित हुन्छन् कि भन्ने सन्दर्भमा आईएमई र यूएनसीडीएफले डिजिटल वालेटमा महिलाहरूको पहुँच अभिवृद्विमा विद्यमान अवरोधहरू हटाउन सहकार्य गरेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार साउनमा रेमिट्यान्स गत वर्षको साउनको तुलनामा २०.३ प्रतिशत बढेको हो । यो साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर