नेपालले विदेशी लगानीबिना पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्छ : महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताएका छन् ।

महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानीबिना नेपाल सरकारको नै लगानी र नेपाली प्राविधिहरूबाट नै बनाउने बताएका हुन् ।

उनले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताए । महानिर्देशक अधिकारीले बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिर गरे ।

उनले विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको बताए । उनले विमानस्थल बनाउने लागतका हिसाबले जङ्गल कटानदेखि अन्य निर्माणको लागि ७ वर्षको समय अविधमा १ खर्ब २० अर्बमा वार्षिक १७ अर्ब रुपैयाँ जम्मा गर्दा पुग्ने बताए ।

महानिर्देशक अधिकारीले वार्षिक १७ अर्बमा १० अर्ब नेपाल सरकारले र ७ अर्ब प्राधिकरणले लगानी गरेर विदेशी लगानीकर्ता नखोजी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्ने बताए । उनले नेपालले विमानस्थल बनाउन सक्दैन भन्ने सोचलाई परिवर्तन गरेर आत्मविश्वास बढाउन आवश्यक रहेको बताए । उनले प्रस्तावित विमानस्थल योजना नेपाल सरकारले आफैँले गर्ने प्रतिबद्धता हुनपर्ने बताए ।

महानिर्देशक अधिकारीले नेपालमा विकास निर्माणसम्बन्धी ऐनलाई नै संशोधन गर्नुपर्ने बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता भएर खर्बौं रुपैयाँ खर्च भएको दाबी गरे । महानिर्देशक अधिकारीले प्रस्तावित स्थानमा विमानस्थल बनाउन उपयुक्त हो वा होइन भन्ने विषयमा अझै पनि वृहत् छलफल गर्नुपर्ने बताए ।

उनले पछिल्लो समय नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढ्दै गएको बताए । अधिकारीले अब एशिया प्यासेफिक क्षेत्रमा नै हवाई यात्रु बढ्दै जाने देखिएको बताए । उनले अन्तर्राष्ट्रिय वा आन्तरिक विमानस्थल क्षणिक समयको लागि नभएर आवश्यकतालाई हेरेर ५० वर्षको योजनामा बनाउनुपर्ने बताए ।

महानिर्देशक अधिकारीले विमानस्थल सञ्चालनमा आएको भोलिपल्ट नै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्ने बताए । उनले पूर्ण रूपमा सञ्चालनमा आउनको लागि समय लाग्ने बताए । उनले वार्षिक १० लाख हवाई यात्रु थपिँदै गएकाले १० वर्षमा पाँच करोड पुग्ने बताए ।

उनले नेपालका सबै विमानस्थलको क्षमता १ करोड यात्रुको लागि पनि नभएको उल्लेख गरे । उनले हवाई यात्रु बढ्दै गएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता छैन भन्नु नै निरर्थक भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर