राष्ट्रपति भण्डारीको कदमले लोकतन्त्रमा कालो बादल मडारियो : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको बताएका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ छ ।

बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभा विघटन गरेर पहिलोचोटि संविधान उल्लंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उल्लंघन गरेको भन्दै आपत्ति जनाए । दोस्रो पटक पनि संघीय संसद्को दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्वराष्ट्रपति यादवले बताए ।

उनले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरूको परम्परा र संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे । पूर्वराष्ट्रपति यादवले राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण नगर्दा नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली जनतालाई सजग भएर लाग्न पनि आग्रह गरे ।

पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधानविपरीत प्रतिनिधि सभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरि पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए । उनले राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरि मुलुकमा प्रतिगमन हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *