राष्ट्रपतिको कदमप्रति संयुक्त विद्यार्थी संगठनको विरोधका कार्यक्रम घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरुले बिरोधका कार्यक्रम घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा विरोधको कार्यक्रम घोषणा गरेका हुन् ।

विरोधका कार्यक्रमहरूमा असोज ६ गते देशभरका सम्पूर्ण जिल्लामा संयुक्त विरोध प्रदर्शन गर्ने, ६ गते नै माइतीघर मण्डलामा बिहान ९ बजे कार्टुन प्रदर्शनी तथा संयुक्त विरोध प्रदर्शन गर्ने र असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गरिने जनाइएको छ ।

विद्यार्थी संगठनहरूले राष्ट्रपतिले कुनै दलको स्वार्थ र इशारामा नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी विफल तुल्याएको आरोप लगाएका छन् । त्यस्तै राष्ट्रपतिको कदमलाई असंवैधानिक कदमको संज्ञा दिँदै राष्ट्र, राष्ट्रियता, नेपाली नागरिक र व्यवस्थामाथि प्रहार गरिएको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा आ–आफ्नो मन्तव्य राख्दै विद्यार्थी नेताहरूले राष्ट्रपति भण्डारीको राजीनामा माग पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर