माइतीघर मण्डलामा विद्यार्थीको नारा- ‘नाम उसको विद्या, संविधानलाई सिध्या’

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागीहरूले ‘नाम उसको विद्या, संविधानलाई सिध्या’, ‘विद्यादेवी बालकोट जा’लगायतका नारा लगाएर विरोध गरेका छन् ।

विरोध कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारानी बन्ने सपना देखेको बताए । उनले बालकोटको सहयात्री बन्दै राष्ट्रपतिले संविधानलाई कुल्चिने प्रयास गरेको बताए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरुवात भएको बताइन् । उनले राष्ट्रपतिलाई शीतल निवासमा बस्ने अधिकार नरहेको भन्दै शीतल निवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिइन् । उनले नेकपा एमाले निर्वाचन विरोधी शक्ति भएको आरोप लगाइन् ।

त्यस्तै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका सभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको आरोप लगाए । उनलले संविधान च्यातिँदै गर्दा कोही पनि चुप लागेर बस्न नमिल्ने बताए । उनलले नागरिकताजस्तो संवेदनशील विषयलाई नेकपा एमालेले चुनाव आएपछि राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको आरोप लगाए ।

संयुक्त विद्यार्थी संगठनले विरोधका कार्यक्रमहरूमा असोज ७ गते बिहान ११ बजे सडक वहस कार्यक्रम गर्ने बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर