गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणमा जुट्न मन्त्री रेग्मीको आह्वान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरूसँग आह्वान गरेकी छन् ।

बिहीबार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब, विपन्न समुदायको सामाजिक र आर्थिक रूपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताएकी हुन् । उनले सामाजिक संघसंस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्य प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि बताइन् ।

मन्त्री रेग्मीले परिषद्मा आबद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा दुई सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कामकारबाहीलाई परिषद्ले अत्यन्त सूक्ष्म रूपमा अध्ययन गरिरहेको बताइन् । उनले गैरसरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको बताइन् । उनले सामाजिक संघसंस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामीण विपन्न व्यक्ति, समुदाय लक्षित कार्यक्रमहरू तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यकता रहेको स्पष्ट पारिन् ।

मन्त्री रेग्मीले परिषद्बाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीतिअनरूप परियोजना सञ्चालन गर्नेगरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको सुुरुवात गरिएको पनि बताइन् । परिषद्की अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले सामाजिक संघसंस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिबद्ध रहेको बताइन् ।

मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई आफू नेतृत्वको टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट कामहरू सञ्चालन गरिरहेको बताइन् । उनले समिति गठन गरेर अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि सुरु गरेको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *