देउवालाई ओलीको प्रश्न- प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्ने अधिकार कुन कानूनले दियो ?

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानून मिचेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानून मिचेको आरोप लगाएका हुन् ।

उनले प्रधानन्यायाधीशजस्तो पदमा रहेका व्यक्तिको महाभियोग ६ महिनासम्म संसद्मा पेस नगर्नु र नजरबन्मा राख्नु लोकतन्त्रको विरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताए । उनले देशलाई प्रत्यायोजित ढंगले गलत बाटोमा लगिएको भन्दै देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिए ।

उनले नेपाली जनताले आगामी मंसिर ४ गतेको निर्वाचनबाट गठबन्धनतन्त्रलाई पराजित गरी नेकपा एमालेलाई सत्तामा स्थापित गर्ने बताए । अध्यक्ष ओलीले नेपालको न्यायालयमा अहिले कानूनको राज नरहेको उल्लेख गर्दै संसद्को सम्पूर्ण अधिकार प्रयोग गर्ने हक सभामुखलाई नरहेको जिकिर गरे ।

उनले जोडजामवाला गठबन्धनका गलत मनााय आगामी संसद्ले बोकेर हिँड्नुपर्ने कुनै आवश्यकता नरहेको बताए । उनले प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानूनले दियो ? भन्दै प्रश्न गरे ।

उनले देश गृहमन्त्रीको घरबाट ल्याएको नभएको भन्दै २/४ महिना कोही व्यक्ति गृहमन्त्री बन्यो भन्दैमा लोकतान्त्रिक प्रणालीलाई नष्ट गर्ने अधिकार नरहेको बताए । उनले पक्राउ पुर्जी जारी नभई प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्नु गलत भएको बताए ।

अध्यक्ष ओलीले कुनै पनि सरकारलाई विदेशी नागरिकलाई नेपालको नागरिकता दिने अधिकार नरहेको भन्दै नागरिकता वितरण गर्ने नभई प्रमाणपत्र दिने कुरा भएको बताए । उनले नेपाली नागरिकहरूले नागरिकता पाउनुपर्छ भनेर विधेयक ल्याउँदा अहिले गठबन्धनमा भएका घटकहरूले नै व्यवधान सिर्जना गरेर ऐन जारी गर्न नदिएको बताए ।

उनले गठबन्धनले निजी स्वार्थको भाषा मात्रै बोल्ने गरेको आरोप लगाए । अध्यक्ष ओलीले गठबन्धनको लक्ष्य के हो भन्दै प्रश्नसमेत गरे । उनले गठबन्धनको लक्ष्य जसरी पनि सत्ता प्राप्त गर्नु भएको बताए ।

उनले नेकपा माओवादी केन्द्र पार्टी नभई क्लब भएको बताए । अध्यक्ष ओलीले माओवादी केन्द्र आफन्तहरूको क्लब भएको बताउँदै पार्टीको अस्तित्व रक्षाका लागि लागि परिरहेको बताए ।

अध्यक्ष ओलीले राष्ट्रपतिलाई अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको बताए । उनले अहिलेको गठबन्धन सरकारले संविधानको धारा १८१ को उल्लंघन गरेको भन्दै सरकारले संविधानको पालना गर्नुपर्ने बताउनु भयो । उहाँले संविधानले विधेयकहरु संसदमा पेस गर्नुभन्दा अघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ भनेको उल्लेख गर्दै अहिलेको गठबन्धनले आफ्नो अहंकारका कारण राष्ट्रपतिसँग कुनै परामर्श नै नगरेको आरोप लगाए ।

उनले अहिलेको गठबन्धनले मसलाको भाषा मात्रै बोल्ने गरेको भन्दै एमालेसँग आए तह लगाइदिने बताए । उनले अहिले संविधान समग्रतामा उल्लंघन भइरहेको बताए ।

उनले अहिलेको सरकार बहुमतको नभएको जिकिर गर्दै बहुमतको धाक नलगाउन सचेत गराए । अध्यक्ष ओलीले आगामी मंसिर ४ गते जनताले गठबन्धनको क्रियाकलापको मूल्यांकन गर्ने बताए ।

अध्यक्ष ओलीले गठबन्धनको अहिलेको उद्देश्य देश विकासको नभई आफन्त र आसेपासेको स्वार्थ पूरा गर्ने भएको बताए । उनले नेकपा एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा रहेको भन्दै अन्य दलहरूसँग देश र जनताको लागि कुनै गन्तव्य नरहेको बताए ।

उनले आगामी तीन दिनमा गठबन्धनको गन्तव्य के र कसका लागि भन्ने प्रश्नको जवाफ दिन गठबन्धनका नेताहरूलाई चुनौती दिए । उनले तीन दिनभित्र देश र जनताका लागि गठबन्धन भन्ने हिम्मत जिब्रो नलर्बराइकन भन्न चुनौती दिए ।

अध्यक्ष ओलीले मंसिर ४ गते एमालेले सरकार बनाएपछिको एक महिनाभित्र नागरिकताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले नेकपा एमाले नागरिकता समस्या समाधान र सुकुम्बासीलगायतका समस्या समाधानको ग्यारेन्टी गर्ने पार्टी भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर