गठबन्धनले एमालेको राष्ट्र निर्माण अभियान रोक्ने षड्यन्त्र गर्‍याे : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।

बिहीबार एमाले केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँचदलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताए ।

उनले गठबन्धनले नागरिकताको विषयलाई षडयन्त्रका रूपमा एमाले विरुद्धमा प्रयोग गर्ने हतियारका रूपमा प्रयोग गर्न खाजेको आरोप लगाए । महासचिव पोखरेलले नागरिकताका विषयमा एमालेको स्पस्ट घारणा रहेको दाबी गरे ।

उनले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको बताए । उनले अहिले नागरिकतामा वैवाहिक अंगीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीहरूको बारेमा अरू देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई आग्रह गरे । पोखरेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरूले नै अवरोध गरेको उल्लेख गरे ।

महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न अध्यादेशमार्फत नागरिकता ऐन जारी गरेको जिकिर गरे । उनले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप पनि लगाए । उनले गठबन्धनले अदालत मा मुद्दा हालेर अध्यादेश नरोकेको भए अहिले जन्मसिद्धका सन्तानले नागरिकता सहज रूपमा आउने अवस्था रहेको बताए ।

महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाए । उनले राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझावमाथि छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको बताए । उनले पाँचदलीय गठबन्धन सम्पूर्ण रूपमा असफल भइसकेको दाबीसमेत गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *