भारतीय सशस्त्र सीमा बलको टोली नेपालमा

भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोली नेपाल आइपुगेको छ। सोमबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रमुख सुजोयलाल थाओसेनको नेतृत्वमा टोली नेपाल आएको हो। एसएसबी प्रमुखसहितको टोली मंगलबार पशुपति मन्दिरको दर्शन गर्न गएको छ।

नेपाल र भारत सीमा सुरक्षासम्बन्धी तीन दिने बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएकाे छ ।  बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलका प्रमुखले आ–आफ्नो देशको प्रतिनिधमण्डलको नेतृत्व गरेका छन् ।  बैठकमा नेपालको सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र भारतको तर्फबाट सशस्त्र सीमा बलका महानिर्देशक सुजोयलाल थाओसेनले नेतृत्व गरेका छन् ।

बैठक सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र तालिम आदानप्रदानमा केन्द्रित हुने बताइएको छ। प्रत्येक वर्ष आलोपालो बैठकको आयोजना हुने गरेको छ । यसअघि गत असोजमा भारतको नयाँ दिल्लीमा सीमा बैठक आयोजना गरिएको थियो।

नेपाल–भारत खुला सीमाका कारण व्यवस्थापन र सीमापार अपराध रोकथाम र नियन्त्रण चुनौतीपूर्ण छ। भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किमि लम्बाइमा अन्तर्राष्ट्रिय सीमा कायम रहेकोमा पूर्वी सीमा करिब २ सय ३५.२ किमी, दक्षिणी सीमा करिब १ हजार ३ सय ७०.२४ किमी र पश्चिमी सिमाना करिब २ सय ७० किमी रहेको बताइन्छ।

दुई देशका नागरिक बिनारोकटोक आवतजावत गर्न सक्ने भए पनि खुला सीमाको कारण आतंकवादी गतिविधिमा संलग्न गिरोहका सदस्य सहजै आवतजावत गर्ने गरेका विगतका थुप्रै तथ्य र प्रमाण छन्। जसबाट एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने, हातहतियारको अवैध ओसारपसार, आतंकवादी गतिविधि, लागूऔषध, जाली नोटको कारोबार, सुन तस्करी, भन्सार छलीलगायतका दुवै देशका साझा समस्या हुन्।

नेपाल र भारतबीच सानाठूला गरी करिब ६० वटा नदी/खोला तथा खोल्सीले सिमानाको काम गरेका छन्। जसबाट ६ सय ४० किमि लम्बाईमा नदीको सीमना कायम छ । त्यसमध्ये पूर्वमा मेची नदीले ८० किलोमिटर र पश्चिममा महाकाली नदीले २०० किलोमिटर, नारायणी नदीले २० किलोमिटर, राप्ती नदीले ६ किलोमिटर र अरु बाँकीले २ सय ५९ किलोमिटर बढीमा सीमा छुट्याएको छ।

पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी गरी २५ वटा जिल्ला भारतसँग मात्रै जोडिएका छन्। ताप्लेजुङ र दार्चुला नेपालका त्रिदेशीय सीमा जोड्ने जिल्ला हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *