कृषिमार्फत आर्थिक क्रान्ति आवश्यक : सीबीफिन अध्यक्ष गोल्यान

बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सीबीफिन) का अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् ।

उनले नेपालमा विगतमा सबै खालका क्रान्ति भएको भन्दै अब कृषि क्रान्तिमार्फत आर्थिक क्रान्तिको आवश्यकता भएको बताए । अध्यक्ष गोल्यानले नेपालमा विभिन्न क्रान्तिमार्फत गणतन्त्र ल्याए पनि आर्थिक क्रान्ति हुन नसकेको दाबी गरे ।

उनले आर्थिक विकास गर्ने विषयमा पनि नेपालमा राजनीति हुने गरेको भन्दै कृषि, पर्यटनमार्फत क्रान्तिका भाषण गरेर नेताहरूले भोटको राजनीति गरेको बताए । उनले अब भोटको राजनीति नभएर किसानहरूलाई कृषि उत्पादनमा जोड दिएर आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए ।

उनले राजनीतिदेखि आम जनतालाई आर्थिक क्रान्तिसँग जोड्ने दायित्व मिडियाको रहेको बताए । उनले स्वदेशी उत्पादन र त्यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने ठूलो आवश्यकता रहेको पनि बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तलब वितरण गर्नका लागि समेत बैंकबाट पैसा नपाएको गुनासो गरे । उनले आफूले कर्मचारीको तलब खुवाउनका लागि ४० लाख रुपैयाँ निकाल्न खोज्दा उपत्यकाका तीनवटै जिल्लामा रहेका बैंकमा पैसा नपाएको दाबी गरे ।

उनले बजारमा तरलताको चरम अभाव भएको अवस्थामा बैंकहरूले ब्याजदर बबढाएको भन्दै ब्याजदर वृद्धिले उद्योग व्यवसाय गर्ने वातावरण नभएको बताए । अध्यक्ष मल्लले पछिल्लो समय ब्याजदरमा भएको वृद्धिले निजी क्षेत्र मर्कामा परेको भन्दै सरकारले ब्याजदर वृद्धिलाई तत्काल व्यवस्थित गर्नुपर्ने बताए ।
उनले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । मल्लले सरकारले निजी क्षेत्रमैत्री नीति नियमहरू बनाउन आवश्यक रहेको बताए । उनले बैंकिङ प्रणाली देखिएको असहज अवस्थालाई थप सहज गराउन राष्ट्र बैंकसँग माग गरे ।

बुधबार नाफिजले शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर