संयुक्त पहलबाट जलवायु परिवर्तनको असर कम गर्न विज्ञहरूको जोड

जलवायु परिवर्तनको असरलाई कम गर्न तीनवटै तहका सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा विज्ञहरूले विश्वभर नै जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्यूनीकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहका सरकारले एकआपसमा समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहका सरकारले सहकार्य गर्न आवश्यक रहेको बताए । उनले हाल ७५३ वटै पालिकामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन समिति बनेको उल्लेख गर्दै सरकारले ऐन, कानून बनाउने सबै काम सकेको भए पनि त्यसलाई कार्यान्वयनमा लैजान नसकेको बताए ।

उनले सरकारले बनाएका नीति, नियमको कार्यान्वयनका लागि प्रविधि र पैसाको जरुरी रहेको पनि उल्लेख गरे । उनले जलवायु परिवर्तनको असरलाई कम गर्न सरकार एक्लै र कुनै एउटा क्षेत्रले मात्र नसक्ने भन्दै सबैको संयुक्त प्रयासबाट मात्रै जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने बताए ।

विज्ञ उप्रेतीले विगत १० वर्षको तथ्यांकलाई हेर्दा नेपालमा सबै विपद्जन्य घटनाको कुल क्षतिमा आधा क्षति जलवायु परिवर्तनका कारण भएको बताए । उनले विगत १० वर्षको तथ्यांकअनुसार नेपालमा सबै खालका विपद्बाट ४५ अर्ब बराबरको क्षति भएको बताए ।

विगत १० वर्षमा सबै खालका विपद्बाट १५ हजार मानिसले ज्यान गुमाएका, सबै खालका विपद्बाट २८ हजारजति पशुचौपायको क्षति भएको र ९ लाखजति भौतिक संरचनाहरू ध्वस्त भएको बताए । जलवायु परिवर्तनका कारण मात्रै विगत १० वर्षमा २० अर्ब बराबरको क्षति भएको तथ्यांकले देखाएको बताए ।

उनले जलवायु परिवर्तनका कारण हालै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अकल्पनीय घटनाहरू भएको बताए । उनले असोज महिनामा आएका ठूला बाढी आउनु जलवायु परिवर्तनको असर रहेको बताए ।

यस वर्ष ‘सबैको लागि पूर्वसूचना, सबैको लागि पूर्वकार्य’ भन्ने नारासहित विश्व अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर