अवरुद्ध सडक तत्काल सुचारु गराउन प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले वर्षातका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०÷२२ दिनभित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

स्थानीय सरकारहरुसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूले समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । गृहसचिव सिंहले अवरुद्ध भएको विद्युत र सञ्चार सेवालाई सुचारु गराउने काममा पनि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई ढिलाइ नगर्न सचेत गराए ।

केन्द्रीय निकायहरूसँग समन्वय गरेर सो कामलाई सहजीकरण गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै गृहसचिव सिंहले त्यसका लागि रिर्पोटिङ गरेर तत्काल मन्त्रालय पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए ।

त्यसैगरी गृह मन्त्रालयले ठोस मापदण्ड तय गरी निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृहसचिव सिंहले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरूको समन्वयनमा सो कामको व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे । उनले चाहिने ठाउँमा सुरक्षाकर्मीको अभाव हुने र नचाहिने ठाउँमा बढी हुने अवस्था आउन नदिन पनि जिल्ला प्रशासन कार्यालयहरू सचेत हुनुपर्ने बताए ।

गृहसचिव सिंहले जिल्ला प्रशासन कार्यालयहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रित भएर आफ्ना गतिविधिहरू अघि बढाउनुपर्ने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर