ओलीप्रति प्रचण्डको कटाक्ष- ‘गोरुगाढा सिद्धान्तवाला नेताहरू परिवर्तन हुन सकेनन्’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

मंगलबार ललितपुरमा आयोजित वाम गठबन्धन अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अहिले गठबन्धन ऐतिहासिक क्षणमा रहेको बताउँदै संविधान बनाउने बेलामा आफू धेरै मारमा परेको र अहिले पनि गठबन्धनको सरकार बनाउँदा दरो खुट्टा टेकेर बनाएको बताए ।

अध्यक्ष दाहालले प्रतिगमनकारी, प्रतिवादीहरूले देशलाई फेरि निरंकुशतातिर लैजाने प्रवृत्ति बसढरहेको भन्दै गठबन्धन एक भएर आम जनताको बीचमा जानुपर्ने बताए । अध्यक्ष दाहालले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी, निरंकुशतातिर जान चाहने शक्तिले पुरातनवादीहरूलाई साथमा लिएको बताए । उनले आगामी निर्वाचनबाट प्रतिगमनकारीहरूको अहंकार चुर पारी राष्ट्रको एकता बचाउने बताए ।

अध्यक्ष दाहालले सबै नेता र कार्यकर्ताहरू निर्वाचनमा गठबन्धनलाई जिताउन खटेको खण्डमा मंसिर ४ गतेपछि बन्ने सरकार पनि गठबन्धनको नै हुने दाबी गरे । अध्यक्ष दाहालले आगामी निर्वाचनपछिको गठबन्धन सरकारको मुख्य एजेण्डा काठमाडौंलाई सुन्दर, सफा र स्वस्थ शहर बनाउने र जनताको जीवनमा परिवर्तन गर्न एकताबद्ध भएर जाने रहेको उल्लेख गरे । उनले राजनीतिक परिवर्तन र आर्थिक परिवर्तन सँगसँगै लैजान नसक्दा राजनीतिक परिवर्तन दिगो हुन नसकेको जिकिर गरे ।

फरक प्रसंगमा अध्यक्ष दाहालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति इंगित गर्दै जबराले संसदीय सुनुवाइ समितिमा जनता सडकमा ओर्लिएपछि जनता देखेर फैसला गरेको स्विकारेको आरोप लगाए ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै समावेशी र समानुपातिक चरित्रको लोकतन्त्र स्थापित गरिसकेपछि गोरुगाढा सिद्धान्तवाला नेताहरू प्नि परिवर्तन भएको सोचे पनि उनीहरूको सोच परिवर्तन हुन नसकेको बताए । उनले संविधानमा हस्ताक्षर गरेपछि प्रतिक्रान्ति, प्रतिगमन, निरंकुशता, अराजकतातिर जाँदैनन् भन्ने आफ्नो सोच वाम गठबन्धन र कम्युनिष्ट एकता भएपछि टुटेको बताए ।

अध्यक्ष दाहालले नेकपा एमालेका अधयक्ष ओलीलाई गोरुगाढाहरू गोरुगाढा चढेर कतै न कतै फेरि पनि प्रतिगमन, अराजकतातिर देशलाई लैजानेमा व्यस्त रहेको आरोप लगाए । उनले आगामी निर्वाचन लोकतन्त्रको रक्षा र लोकतन्त्र उल्ट्याउनेबीचको लडाइँ हुने बताए । अध्यक्ष दाहालले आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएकाले यसलाई सामान्य रूपमा नलिन आग्रह गरे ।

अध्यक्ष दाहालले कांग्रेसी, माओवादी र समाजवादीका कार्यकर्ताहरूले एकअर्काको निर्वाचन चिह्नमा भोट हाल्नुलाई अनैतिक तर्क गरिरहनु आवश्यक नरहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर