आर्मीका स्वर्ण पदक विजेता खेलाडी सोमबहादुरको देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने लक्ष्य

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते ।

गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन् । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले । उनले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी थिए, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्ता पनि उनमा थियो ।

आफ्नो कीर्तिमानीले दिएको खुसीसँगै प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्ने उनले बताए । पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको जनाउँदै उनले निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिए ।

नवौंका लागि चार वर्ष प्रतीक्षा गरेको बताउँदै उनले राष्ट्रिय खेलकुद नियमित गर्न आग्रह गरे । उनको लक्ष्य अब राष्ट्रिय प्रतियोगिताबाट माथि उठेर दक्षिण एशियाली र एशियाली प्रतियोगितासम्म पुग्ने र देशलाई पदक दिलाउने छ ।

उनले भने, “देशमा प्रतियोगिता नियमित हुनुपर्दछ नत्र हाम्रो स्तर खस्किन्छ । नियमित खेल भयो भने साउथ एशियन र एशियन लेभलसम्म पुग्न सक्छौँ । यसका लागि देश लाग्नुपर्नेमा खेलाडी व्यक्तिमात्र लागि पर्दा हामी माथिल्लो स्तरमा पुग्न सकेका छैनौँ ।”

उनले सन् २०१८ मा इन्डोनेशियामा भएको ‘एशियन गेम्स’मा आठ सय मिटरको राष्ट्रिय कीर्तिमान बनाएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि पदक ल्याउन सकेका छैनन् । सोमको अनुभवमा नेपालीसँग खेल्न विदेशी पनि डराएका हुन्छन् तर नेपालको खेल वातावरण नभएकाले उनीहरू हाबी हुने गरेको बताए ।

“हाम्रोमा नियमित खेल्ने वातावरण छैन, ट्र्याकमा दुई/तीन वर्षसम्म खेल नहुँदा कमजोर भएर बस्नुपर्ने बाध्यता छ । ट्र्याक हाम्रा लागि भगवान् हो, यही भनेर कुरेर बसेका छौँ हामी । राम्रो खेल देखाउन प्रतियोगिता नियमित आयोजना हुनुपर्‍याे,” उनले भने ।

नेपाल प्रहरीको महिला क्रिकेट टोलीले नवौं राष्ट्रिय खेलकुदको आफ्नो ‘डेब्यु’मै ऐतिहासिक स्वर्ण पदक जित्यो । अर्को विभागीय टोली सशस्त्र प्रहरी बललाई पोखरा रङ्गशालामा पराजित गरेर पुलिसले स्वर्ण जित्दा टोलीका खेलाडीमा खुसीको सीमा थिएन । पुलिस टोलीको कप्तानी गरेकी नेपाली राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीले महिला क्रिकेटमा व्यावसायिकताको खाँचो रहेको बताइन् । यसअघिका प्रतियोगितामा प्रदेशबाट खेल्दै आएकी उनी यसपटक विभागीय टोलीबाट खेलिन् । विभागबाट खेल्दा खेलाडीलाई सम्मान मिल्ने गरेको उनकोे अनुभव छ ।

उनले भनिन्, “विभागमा खेलाडीमा जागिरको सुरक्षा र सुविधा हुन्छ । प्रदेशबाट सुविधा नपाएपछि खेलाडी विभागमा जाने हुन् । प्रदेशमै आवश्यक सुविधा दिने हो भने खेलाडीको पनि भविष्यको सुरक्षा हुन्छ, खेलले पनि व्यावसायिकता पाउँछ ।” उनको अनुभवमा विभागीय टोलीमा खेलाडीको सुरक्षा र संरक्षण भए पनि व्यावसायिक खेलको चुनौती भने रहन्छ । उनले नेपाली महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेलिरहने वातावरण र आधार निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

खेलकुदका सरकारी निकायदेखि विभिन्न कर्पोरेट क्षेत्रले पनि महिला क्रिकेटमा लगानी गरेर प्रतियोगिता सञ्चालन गर्न सकेको खण्डमा राम्रो व्यावसायिकताको विकास हुने उनको विश्वास छ । उनले भनिन्, “खेलाडीलाई क्रिकेटमा लागिरहने आधार बनाउनु चुनौतीपूर्ण छ । म्याच धेरै हुनुपर्दछ । पुरुषको ईपीएललगायतका प्रतियोगिता हुँदा केटीहरूको पनि हुुनुपर्‍याे । राखेप, क्यानलगायत अन्य कर्पोरेट सेक्टरले पनि यसबारेमा पनि अब सोच्नुपर्दछ ।”

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी नियमित सदस्य अप्सरी बेगमले खेल प्रदर्शनका लागि प्रतियोगिताको कमी भएको बताइन् । राष्ट्रिय खेलकुदबाट उत्कृष्ट क्षमताका खेलाडी निस्किरहेकाले उनीहरूलाई राम्रो म्याच एक्पोचर दिनसके खेलको विकास राम्रो हुने उनको सुझाव छ । उनले भनिन्,, “अहिले म्याचको कमी छ । हामीले धेरै प्रतियोगिता खेल्न पायौँ भने हाम्रो स्तर वृद्धि हुन्छ ।”

पुलिसको टोलीमा रहेर स्वर्ण जितेपछि उनी उत्साहित छिन् । “पुलिस टिम बनेर महिला क्रिकेटमा पहिलो सहभागितामै स्वर्ण जित्दा खुसी भएका छौँ । यस टिमले पछिसमेत राम्रो खेल्नेछ,” उनले भनिन् ।

-कृष्ण दवाडी/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर