आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरूलाई कारबाही गर्ने तयारी थालेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरूले निर्वाचन आचारसंंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको आयोगले जनाएको हो ।

बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए ।

आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारहरूलाई आग्रह गरे । आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोही उम्मेदवारहरूलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए ।

उनले ऐन, कानून बनाउनेहरूले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलहरूले अगुवा कार्यकर्ता भेला, प्रशिक्षणलगायतका क्रममा आचारसंहिताको उल्लंघन गरिरहेको बताए । उनले हरेक उम्मेदवार र दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको पनि उल्लेख गरे ।

निर्वाचन आयुक्त भण्डारीले नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वाता सुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताए । उनले आयोगले यस सन्दर्भमा प्रमाण जुटाउने काम गरिरहेको बताए ।

उनले आयोगले उम्मेदवारहरूले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहिता उल्लंघन गरेको पाइए कारबाहीको भागिदार बनाउने बताए ।

निर्वाचन आयुक्त भण्डारीले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले शुरुदेखि नै ऐन, नियम र आचारसंहिता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर