शुक्रबारदेखि प्लाष्टिकजन्य फूल बिक्री गरे एक लाखसम्म जरिवाना

वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ ।

तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो ।

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रबारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए ।

उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीबारको सूचनामार्फत सचेत गराएको बताए । उनले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरू बिक्री बढ्ने भएकाले बिक्री वितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताए ।

घिमिरेले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरूको आयात प्रतिवन्ध रहेको बताए । उनले तिहार र छठजस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्री वितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताए ।

उनले अनुगमनका क्रममा सरकारको निर्णयविपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सुचनामा उल्लेख अनुसार नै कारबाही गरिने बताए ।

उनले प्लाष्टिकजन्य फूलमालाहरू बिक्री वितरण गर्ने र प्रयोग गर्नेहरुको लागि बिहीबार सूचना निकालेर सचेत गराएको भन्दै शुक्रवार माइकिङ गर्ने र अर्को दिनबाट अनुगमन गर्ने तयारी विभागको रहेको बताए । उनले सरकारले प्लाष्टिकजन्य फूलमालाहरु आयात गर्ने नै प्रतिबन्ध गरेकाले त्यस्ता वस्तु बजारमा देखिएमा साना व्यापारीभन्दा पनि सामान ल्याउने स्रोत पहिचान गर्न अनुगमन टोली खटाइने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *