ग्राउण्ड ह्याण्डलिङमा वायुसेवा निगमकाे विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन् ।

बुधबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका हुन् । उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्ने पनि बताए ।

महानिर्देशक अधिकारीले कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरे । उनले वायुुसेवा निगमका कर्मचारीले नै आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको उल्लेख गरे ।

अधिकारीले कानूनले दिएको अधिकार समान रूपमा प्रयोग गरी कार्यान्वयन र विकल्प प्रस्तुत गर्न प्राधिकरण सचेत रहेको बताए । उनले प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्थासहितको हवाई उडान गर्ने कुरा चाँडै निर्णय गर्ने बताए ।

उनले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति दिँदा निजी एयरलाइन्सलाई दिएको भनेर मिडियाको प्रेसरबाट प्राधिकरण निजी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने विषयमा पछाडि हटेको बताए । अधिकारीले हप्तामा ३५ वटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छु भन्दा कानूनी रूपमा प्राधिकरणले अनुमति दिनुपर्ने बताए ।

उनले हवाई उडान कम्पनीले व्यापार गर्नका लागि उडानमा बढी प्राथमिकता दिनुपर्ने बताए । अधिकारीको भनाइअनुसार प्राधिकरण निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिन तयार रहेको देखिन्छ । अहिलेसम्म नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले शुरुदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *