गठबन्धन कायम राख्दा सबैको अवसर आउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको शुक्रबार उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे ।

यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशितालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उनले भने, “सबैको समावेशिता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।”

प्रधानमन्त्रीले गठबन्धनले जित्नुपर्ने आवश्यकता रहेको बताए । गठबन्धनमा कुनै बहानामा शङ्का–उपशङ्का गराउन नहुने बताउँदै उनले बोली तथा व्यवहारमा तिक्तता आउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए । वर्तमानमा कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टी मिल्नुपरेको उनको भनाइ थियो ।

गठबन्धनमा सबैको जित भएको उल्लेख गर्दै उनले यसलाई कायम राख्दा सबैको अवसर आउने बताए । निर्वाचनमा जाँदा सबै पार्टीमा कसले टिकट पायो र कसले पाएन त्यसको पर्वाह नगरी लाग्न आग्रह गर्दै उनले गठबन्धनको सरकार बनेमा अन्य विभिन्न अवसर उपलब्ध हुने उल्लेख गरे ।

नेपालमा विसं २००७ देखिका विभिन्न परिवर्तन हुँदै गणतन्त्र, समावेशी लोकतन्त्रजस्ता उपलब्धि हासिल भएको बताउँदै प्रधानमन्त्री देउवाले यहाँको समावेशी लोकतन्त्र अन्य राष्ट्रका लागि पनि चासो र अध्ययनको विषय बनेको बताए ।

गण्डकी प्रदेशमा भव्यताका साथ नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको र यसले यहाँको सम्भावनालाई पनि थप उजागर गरेको प्रधानमन्त्री देउवाले बताए । कला, संस्कृतिलगायतका धेरै विविधता रहेको यस मुलुकको समृद्धि र विकास अबको आवश्यकता भएको बताउँदै उनले संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जित अपरिहार्य भएकामा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर