अरू पार्टी प्रतिस्पर्धा गर्न योग्य छैनन्, हाम्रो प्रतिस्पर्धी एमाले हो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पतिस्पर्धा एमालेसँग हुने बताएका छन् ।

आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् । उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको जिकिर गरे ।

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरूले नै दुःख पाउने बताए । उनले कांग्रेस र माओवादीलगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै कांग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए । उनले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गरे ।

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए । अध्यक्ष लिङ्देनले देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरूले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताए । उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हिनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार कुन्तीदेवी पोखरेलले आगामी निर्वाचन राष्ट्रवादीको जित वा हार भन्नेमा नै केन्द्रित हुने बताइन् । उनले नेपाली कांग्रेसका मतदाताहरूले किसुनजी, गणेशमान सिंह र बीपी कोइरालाको सिद्धान्तलाई पछ्याउने वा प्रचण्डपथमा लाग्ने भन्ने तय गर्ने निर्वाचन भएको पनि बताइन् । उनले आगामी निर्वाचनमा राष्ट्रवादी पार्टी राप्रपालाई जिताउनुको कुनै विकल्प नभएको बताइन् ।

उम्मेदवार पोखरेलले काठमाडौं क्षेत्र नम्बर २ विकास निर्माणमा कर्णाली भन्दा कमजोर रहेको जिकिर गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर