खोटाङमा ढाकाटोपी बाँड्दै भोट मागिरहेका एमाले नेता

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जारी गरिएको आचारसंहिता उल्लङ्घन गरेको भन्दै विभिन्न राजनीतिक दलका नेता, उम्मेदवारलगायतलाई धमाधम स्पष्टीकरण सोधिरहेको छ।

स्पष्टीकरण सोधिएको विषयमा चित्तबुझ्दो जवाफ नआए र आयोगले सङ्कलन गरेको प्रमाणबाट आचारसंसहिता उल्लङ्घन गरेको पुष्टि भए जोकोहीलाई कारबाहीको दायरामा ल्याउने चेतवानी पनि दिँदै आएको छ। आचारसंहितामा आयोगले गरेको कडाइका कारण चुनावी प्रचार शैली पनि केही फेरिएको छ।

यसैबीच खोटाङमा नेकपा एमालेका उम्मेदवारले वृद्धहरूलाई ढाकाटोपी बाँडेको तस्बिर सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा पोष्ट भएका ती तस्बिरमा एमालेका खोटाङ प्रदेश (क) का उम्मेदवार पाँचकर्ण राई (पीके)ले वृद्धहरूलाई ढाकाटोपी लगाइदिएको देखिन्छ। निर्वाचनको सम्मुखमा सार्वजनिक उक्त तस्बिरले मतदाता रिझाउन त्यसरी ढाकाटोपी बाँडेको स्पष्ट हुन्छ।

तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उम्मेदवार राईको आलोचना भइरहेको छ। आचारसंहिता सबैलाई लागू हुने भन्दै अधिकांशले उनलाई कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका छन्।

तर, उम्मेदवार राईले भने आफूले त्यसरी ढाकाटोपी नबाँडेको दाबी गरे। ‘बूढापाका मान्छेलाई ढोग्दाखेरि टोपी छोएको हुँ, मैले त्यसरी टोपी बाँडेको छैन,’ उनले भने।

यद्यपि तस्बिरको दृश्यले उनको दाबीलाई असत्य सावित गर्छ। तस्बिरहरूले उनले वृद्धहरूको खाली शिरमा ढाकाटोपी लगाइदिइरहेको देखाएको छ।

निर्वाचन आचारसंहिताले मतदातालाई कुनै पनि किसिमका प्रलोभनमा पार्ने कार्य गर्न रोक लगाएको छ। निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर