ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार सैनिक जवानको मृत्यु

चितवनमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपाली सेनाका जवानको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सैनिक जवान सुनिल महताेको मृत्यु भएको हो।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको सैनिक जवान महताेले चलाएको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान साढे ५ बजे ठक्कर दिँदा सैनिक जवान महताेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सर्लाहीको बागमती नगरपालिका–१० का अन्दाजी २६ वर्षीय महतोको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ।

उनी नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत थिए। दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन्। पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *