विष्णु पौडेलकाे दाबी- ‘एमाले एक्लैले बहुमत ल्याउँछ’

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।

सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले सत्तारूढ गठबन्धनले मुलुकमा समस्या मात्रै सिर्जना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताए ।

सत्तारूढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरूलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभूति भएको पनि उपाध्यक्ष पौडेलले बताए । अन्य सहयात्री दलहरूको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ छ ।

रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएको दाबी गरे । उनले छिट्टै पार्टी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गर्ने पनि बताए । उपाध्यक्ष पौडेलले रूपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढंगले विजयी हुने दाबी गरे ।

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरूपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरूपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ ।

संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान संशोधन हुँदै जाने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन नै आफ्नो पार्टीको केन्द्रीय विषय भएको बताए । उनले भौतिक पूर्वाधार र मानवीय संशोधनको विकास गरेर मुलुकको समग्र आम्दानीलाई अगाडि बढाउने प्रश्नमा आफूहरू केन्द्रित रहेको पनि बताए ।

उपाध्यक्ष पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको निर्वाध रूपमा नागरिकहरूले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर