संविधानको जग उखेल्न दिँदैनौं : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाइएको बताएका छन् ।

ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनले संविधानमा भएका कमी–कमजोरी सच्याउन परिमार्जनको आवश्यकता रहेको र आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । “राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्छौँ, तर संविधानको जग उखेल्न दिँदैनौँ”, प्रवक्ता महतले भने । उनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए ।

“ठूलो मेहेनतले बनाएको संविधानलाई ध्वस्त गर्ने चक्करमा नेकपा (एमाले) लागेको थियो, हामीले त्यसलाई रोक्यौँ, अहिले संविधानका विरुद्ध अनेकौँ प्रवृत्ति देखापरेका छन्”, उनले भने, “संविधानको उपलब्धिलाई खत्तम पार्न केही पक्ष लागिपरेका छन् । संविधानको रक्षा गर्न जरुरी छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न गठबन्धन बनाइएको उल्लेख गर्दै प्रतिनिधि सभा र प्रदेश सभाका साझा उम्मेदवारलाई विजयी गराउन सबैको भूमिका आवश्यक रहेको बताए । ललितपुर क्षेत्र नं ३ प्रदेश सभाका उम्मेदवारद्वय राजकाजी महर्जन र जितेन्द्रकुमार श्रेष्ठले राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रुपान्तरणका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर