रवीन्द्र मिश्रले भने- ‘प्रचण्ड ज्यानमारा हुन्’

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार रवीन्द्र मिश्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘ज्यानमारा’को संज्ञा दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले दाहालमाथि माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जलाएको, मुलुकमा मान्छे मारेर शासन गरेको आरोप लगाएका हुन् । उनले पृथ्वीनारायण शाहको शालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

मुलुकमा राजाको आवश्यक्ता औंल्याउँदै वरिष्ठ उपाध्यक्ष मिश्रले मान्छे मार्न हुने तर राजाले गल्ती नै गर्न नहुने ? भनी प्रश्न गरे । उनले मुलुक भूराजनीतिको भुमरीमा पर्ने उल्लेख गर्दै त्यसलाई जोगाउन पनि राजा र राजसंस्था मुलुकका लागि अति आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमेशर राणाले ठूला दलले मुलुकलाई दुर्गतिमा पुर्‍याएको भन्दै त्यसको विकल्पमा आगामी निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन आम मतदातालाई आग्रह गरे । राप्रपाको चुनाव चिह्न हलो भएको र त्यसले मात्रै मुलुकको भलो गर्ने उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलले मुलुकमा लुटमात्रै मच्चाएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई आम मतदाताले जिताउनुपर्ने बताए । उनले राप्रपा कांग्रेस र कम्युनिष्टहरूलाई चुनौती दिन सक्ने शक्तिको रूपमा आएको दाबी गरे ।

पूर्वअध्यक्ष लोहनीले राप्रपा मुलुकको भरपर्दो राजनीतिक शक्ति भएकाले आगामी निर्वाचनमा त्यसको विजयलाई कसैले पनि रोक्न नसक्ने दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर