‘नाे नट अगेन’बारे के भन्छन् विज्ञहरू ?

साइबर कानून विज्ञ डा. श्रीकृष्ण भट्टराईले निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिलाई अदालतले गलत नठहर्‍याएसम्म सही रहने बताएका छन् ।

उनले कोही मानिसलाई यो नागरिकको स्वतन्त्र अधिकारको विरुद्धमा छ भन्ने लागेको खण्डमा अदालतमा मुद्दा दायर गर्नसक्ने र अदालतको निर्णय नै लागू हुने बताए ।

निर्वाचन आयोगले कार्तिक ८ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नो नट अगेन’का फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारेमा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गरिएको भन्दै कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुनसक्ने भन्दै यस किसिमका गतिविधि नगर्न विज्ञप्ति जारी गरेको थियो ।

साथै आयोगले उक्त फेसबुक पेज र ग्रुपहरू तत्काल नहटाए प्रचलित कानूनबमोजिम कारबाही हुने उल्लेख गरेको छ । आयोगले झुट, फेसबुक पेज/ग्रुपहरू सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ) (ट) (ठ) र (ड) प्रतिकूल रहेको जनाएको छ ।

यता आयोगको विज्ञप्तिपछि भने आम सर्वसाधारणदेखि संविधानविद्हरूले समेत आयोगले जारी गरेको विज्ञप्ति असंवैधानिक भएको भन्दै आपत्ति जनाउँदै आएका छन् । साइबर कानून विज्ञ डा. भट्टराईले आयोगले सामाजिक सञ्जालबाट हेट स्पिच हुने खालका, अर्को कुनै उम्मेदवारप्रति, पार्टीप्रति, पक्षप्रति लक्षित गरेर मानहानी हुने खालका र उनीहरूलाई असर पर्ने खालका पोष्ट गर्न नपाइने कुरा आचारसंहितामा उल्लेख गरेको बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले आचारसंहिता भनेको क्वेशन अफ ल नभई क्वेशन अफ मोरालिटी भएको बताए ।

उनले निर्वाचन आयोगले अहिले निर्वाचन आचारसंहितामा नै यसबारेमा उल्लेख गरेको बाध्यकारी बलको प्रयोग गरेको बताए । उनले आयोगले आचारसंहितामा समावेश गरेर ल्याइसकेपछि आचारसंसहिताको हकमा एक प्रकारको कानून नै भएको बताए ।

साइबर कानून विज्ञ डा. भट्टराईले कोही व्यक्तिका कारण निर्वाचनमा सहभागीहरूलाई नकारात्मक असर गर्ने, भोट हाल्दा त्रास पैदा हुने किसिमका कुरालाई रोक्नका लागि आयोगले आचारसंहितामा यी विषयहरू राखेको बताए । उनले निर्वाचन आयोगले निर्वाचनविरोधी गतिविधि हुन नदिनका लागि सामाजिक सञ्जालको दुरुपयोग हुन नदिने विषयमा आचारसंहितामा यस्ता विषयहरूको उठान गरेको बताए ।

उनले आचारसंहितामा उल्लेखित विषयमा कोहीले असहमति प्रकट गरे अदालतमा जान पाउने अधिकार रहेको पनि बताए । उनले आयोगले आचारसंहिताको रूपमा ल्याइसकेको विषय एक प्रकारको कानून नै भएकाले यो लागू हुने बताए । अहिलेको अवस्थामा यसलाई टेरर वा नियन्त्रण गर्न खोजेको भनेर बुझ्न नहुने बताए ।

साइबर कानून विज्ञ डा. भट्टराईले निर्वाचन आयोगको यो कदम निर्वाचनलाई निष्पक्ष, निर्भीक, स्वच्छ, स्वतन्त्र रूपमा सम्पन्न गर्न तत्कालका लागि लगाएको बन्देज मात्रै भएको बताए ।

यता संविधानविद् डा. भीमार्जुन आचार्यले भने नागरिकले अभिव्यक्ति दिन पाउने अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम भएको बताएका छन् ।

संविधानले हरेक नागकिरहरूलाई निर्वाचनमा एउटा उम्मेदवार अयोग्य भयो र अर्को उम्मेदवारलाई जिताएर पठाउनुपर्छ भन्ने अधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै आयोगले नागरिकको स्वतन्त्र अधिकारमाथि रोकतोक गर्नु संविधानविरुद्ध भएको दाबी गरेका हुन् ।

उनले देशमा हरेक निर्वाचनमा एउटै असफल व्यक्तिले जनतामा लोभ र आश्वासन दिएर जितिरहने गरिरहेको उल्लेख गर्दै यसपटक भने नागरिकले धेरै पटक चुनेर पठाएका नेताहरू असफल भइसकेकाले सफल व्यक्तिको छनोट गर्न र अरूलाई पनि यसबारेमा सचेत गराउन अनिवार्य रहेको बताए । उनले कुनै नेताहरूले जनतासमक्ष आफूलाई भोट दिनुहोस् भन्न पाउने अधिकार रहन्छ भने जनताले पनि परीक्षणमा असफल भएकालाई भोट दिन्नौँ र दिनुहुँदैन भन्ने अधिकार राख्न पाउने बताए ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संविधानविद् डा. आचार्यले यसपटक नेपाली जनतामा ‘नो नट अगेन’ शीर्ष दलका शीर्ष नेताहरूलाई निर्वाचनबाट बहिष्कार गर्नुपर्ने अभियान चल्नु संविधानको दृष्टिकोण, लोकतन्त्रको दृष्टिकोण, राजनीतिक चेतना र नागरिक अधिकारको उत्कृष्ट अभिव्यक्ति भएको जिकिर गरे । उनले नागरिक अधिकारको अभिव्यक्तिलाई पछिल्लो समय निर्वाचन आयोगले निर्देशन दिने र खबरदारी गर्नु भनेको कानून, संविधान, लोकतन्त्रको मूल्य,मान्यताको विरुद्धमा रहेको पनि स्पष्ट पारे ।

संविधानविद् डा. आचार्यले निर्वाचन आयोगले नागरिकलाई कसैलाई भोट दे र नदे भन्ने अधिकार छैन भन्ने हो भने आयोगलाई संविधानको बारेमा राम्रोसँग ज्ञान नभएको बताए । उनले निर्वाचन आयोगले केही वर्षअघि मतदातासँग राइट टू नो भोटको अधिकार दिलाउन परमादेश जारी गरेको उल्लेख गर्दै आयोगले सर्वोच्च अदालतको परमादेशको अवहेलना गरेको दाबी गरे ।

उनले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि आयोगले राइट टू नो भोटको अधिकार नदिनु जनताको अधिकारमा अंकुश लगाउनु रहेको जिकिर गरे । उनले निर्वाचन आयोग संविधानले परिकल्पना गरेको जस्तो स्वतन्त्र, स्वायत्त संवैधानिक निकाय भन्दा पनि कुनै दल विशेष वा सरकारले अह्राएको काम गर्ने निकायको रुपमा आफूलाई प्रस्तुत गरेको अनुभूति भएको बताए ।

उनले असहमति व्यक्त गर्ने अधिकार मतदाताको सबैभन्दा ठूलो अधिकार भएको उल्लेख गर्दै सार्वजनिक जीवन बिताइरहेको, राज्यको करको पैसाबाट आफ्नो सुविधाहरू खाएको, अहिले पनि पदमा बहाल रहेको वा विगतमा पटकपटक पदमा बहाल रहेको व्यक्तिको हरेक क्रियाकलापसँग नागरिकको अन्तरसम्बन्ध रहने बताए ।

उनले नेपालको संविधानले पनि भोटिङ राइटको अधिकार दिएको उल्लेख गर्दै भोटिङ राइट पहिलो पुस्ताको अधिकार भएकाले स्वतन्त्रतामा कुनैपनि प्रकारको छेकबार हुनु नहुने बताए । उनले नेपालको राजनीतिक, संवैधानिक इतिहासमा पहिलोपटक मतदाताहरूले आफ्नो मतहरू जाहेर गरेको उल्लेख गर्दै देशको सत्ता चलाउन असक्षम नेतृत्वलाई रोक्ने बेला भइसकेको बताए ।

मंसिर ४ गतेको निर्वाचनमा देश हाँक्न असक्षम नेतृत्वलाई हराउने अभियानको कार्यान्वयन हुनुपर्ने बताए । उनले हरेक नागरिकले आफ्नो अधिकारको प्रयोग गर्न हुँदैन भन्ने निर्वाचन आयोगको विज्ञप्ति असंवैधानिक भएको उल्लेख गर्दै तत्काल विज्ञप्ति फिर्ता लिन आयोगलाई आग्रह गरे ।

उनले मुलुकमा पटकपटक जिम्मेवारीमा बसेर कुनैपनि योगदान नगरेका र पटकपटक परीक्षणमा असफल भएका ठूला नेतालाई यसपालिको निर्वाचनमा रोक्नुको विकल्प नरहेको बताए । उनले यो निर्वाचनमा पनि असफल नेतृत्व चयन गर्ने हो भने अबको ५ वर्ष नेपालको लागि धेरै डरलाग्दो हुने दाबी गरे ।

संविधानविद् डा. आचार्यले राज्यको संविधान र राजनीतिक दृष्टिकोणले हेर्दा संविधान वा विधिको शासनमाथि तमाम प्रश्नहरु उठिरहेको बताए । उनले राज्यका संवैधानिक निकायहरूको बारेमा संसद् एक खालको निकम्मा सावित भएको बताए ।

उनले संविधानले परिकल्पना गरेका १३ वटा संवैधानिक निकायहरू राज्यका सामान्य डिपार्टमेण्ट जस्तो भएको बताए । उनले १३ वटा संवैधानिक निकायहरूले आफ्नो स्वायत्तता बचाउन नसकेको जिकिर गर्दै राज्यको आर्थिक अवस्था पनि धेरै नै कमजोर रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *