प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र पुलिसको विजयी सुरुवात

विभागीय टोलीद्वय एपीएफ क्लब र नेपाल पुलिस क्लबले आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले बागमती प्रदेशमाथि १ सय ९२ रनको फराकिलो जित निकालेका हो । यससँगै दुवै विभागीय टोलीले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विजयी सुरुवात गरेका हुन् ।

पहिला ब्याटिङ गर्दै एपीएफले दिएको २ सय २० रनको लक्ष्य पच्छ्याएको आर्मीले ३२.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६३ रन बनाउन सक्यो । ओपनर हरि चौहान र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । चौहानले ६७ बलमा ७ चौका र १ छक्कासहित ६५ रनको व्यत्तिगत स्कोर बनाउँदा रोहित पौडेलले ५९ बलमा ७ चौकासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । २ विकेट गुमाउँदा ४७ रन बनाएको आर्मीले ३ विकेट गुमाउँदा १ सय ४२ बनाएको थियो । त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले जमेर खेल्न सकेनन् । आर्मीविरुद्ध कसिलो बलिङ गर्ने क्रममा एपीएफका लागि अमर रौटेलालले ५.१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । यस्तै कमलसिंह ऐरीले १० ओभरमा ५६ रन खर्चेर १ मेडनसहित ३ विकेट निकाल्दा किशोर महतोले ८ ओभरमा २९ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन जोडेको थियो । पुलिसका लागि ओपनर प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर आशिफ शेख ९ रन बनाएर पेभेलियन फर्किएका थिए । लोकेश बम शून्यमा पेभेलियन फर्किएपछि भुवन कार्कीले २६ रन बनाएर आउट हुँदा पाँचौं नम्बरमा क्रिजमा उत्रिएका सन्दीप जोराले अर्धशतक बनाएका थिए । एपीएफका लागि ६२ बलको सामना गरेका सन्दीपले ६ चौका प्रहार गरे । कप्तान शरद भेसावकर १६ रन बनाएर पेभेलियन फर्किंदा अमरसिंह रौटेला १० रनमा अविजित रहे । बलिङतर्फ आर्मीका विक्रम सोबले सर्वाधिक ४ विकेट लिए । विक्रमले ७.४ ओभरमा २३ रन खर्चिएका थिए । यस्तै साहब आलम र कुशल मल्लले २/२ तथा सुशन भारी र जितेन्द्र मुखियाले १/१ विकेट निकाले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर