निर्वाचन सुरक्षाका लागि भारत सरकारले उपलब्ध गरायो दुई सयवटा गाडी

भारत सरकारले नेपालमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि दुई सयवटा गाडी उपलब्ध गराएको छ।

विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने उद्देश्यले भारत सकारले उपहारस्वरूप ती सवारी साधन प्रदान गरेको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई ती सवारी साधन हस्तान्तरण गरेका छन्।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारी साधन चुनावका दौरान प्रयोग गरिनेछ। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारी साधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउ पर्‍याउने अपेक्षा गरिएको छ।

अर्थमन्त्री शर्माले यी सवारी साधनलगायत विकास साझेदारीको रूपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारी साधन उपलब्ध गराउँदै आएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै दुई हजारवटा र नेपाली सेना र निर्वाचन आयोगलाई चार सयवटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा दुई हजार चार सयभन्दा बढी सवारी साधन उपहारस्वरूप प्रदान गरिसकेको छ ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी सवारी साधनको हस्तान्तरणले जनता–जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *