प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाच प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताए । उनले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने बताए । उनले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको बताए ।

उनले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रूपमा लिएको बताए । उनले गोरखा जिल्लाको इतिहास, राष्ट्र एकता बचाइरहने र राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर गर्नुपर्ने चुनौती रहेको बताए । गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध बनाउने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

अध्यक्ष दाहालले गोरखाको विकासका लागि सबै राजनीतिक दलहरूले एकत्रित भएर काम गर्न आवश्यक रहेको बताए । उनले गठबन्धनले गोरखामा जितेको चुनाव परिणाम असाधारण तरिकाले जित्यो भन्ने कुरा सावित गर्न सक्नुपर्ने बताए ।

अध्यक्ष दाहालले आगामी चुनावमा अभूतपूर्व रूपमा परिणाम निकाल्ने गरी चुनावमा लाग्न पनि नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर