बैंकको ब्याजदर घटाउन माग गर्दै उद्योगी, व्यवसायी सडकमा

बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरूले सडक आन्दोलन सुरु गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीहरूले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसका विरुद्ध मौन विरोध प्रर्दशन गरेका हुन्। उनीहरूले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरू मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए। उनले स्वदेशी उद्योगी, व्यवसायीहरूलाई मारमा पार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले गरेकाले मुलुकको अनधिकृत व्यापार फस्टाएको भन्दै आक्रोश व्यक्त गरे।

व्यवसायीहरूले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेकामा पनि आक्रोश पोखेका छन्।

विरोध प्रर्दशनमा महासंघ अन्तरगतका सबै उद्योगी, व्यवसायीहरू सहभागी भएका थिए । उनीहरूले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंकभन्दा बढी ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए।

महासंघले ब्याजदर घटाउनेलगायतका माग राखी अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर