निर्वाचनको भीडभाडले काेराेनाकाे नयाँ भेरियन्ट फैलिन सक्छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरूमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताए ।

उनले देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत् रहेको उल्लेख गरे । उनले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउन जरुरी रहेको बताए । डा. अधिकारीले कोभिड–१९ विरुद्धको खोप नलगाएका व्यक्तिहरूलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे ।

उनले विश्वव्यापी रूपमा कोभिड–१९ को संक्रमण घटेको बताए । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ । तर पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने बताए । डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड–१९ का संक्रमितहरू रहेको बताए ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए ।

उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताउनु भयो । उहाँले कोभिड १९ बिरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए । सर्वसाधारणहरूलाई नियमित रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरूलाई सम्पर्क गरी कोभिड–१९ विरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर