गगन थापा भन्छन्, ‘प्रधानमन्त्री बन्नका लागि चुनाव जित्नुको विकल्प छैन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन्।

बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन्। उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भई देशको विकास गर्नु रहेको बताए।

महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताए। उनले यसअघिको चुनावमा धेरै स्थानमा उत्साह र शुभेच्छा देखिए पनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको शुभेच्छा र उत्साह कम हुँदै गइरहेको बताए। उनले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनका निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिबद्धता जनाए।

महामन्त्री थापाको निर्वाचन क्षेत्रका मतदाता भने थापाप्रति सन्तुष्ट नै देखिन्छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मतदाताहरूले पुराना नेताहरू परिवर्तन गरी देशमा युवा नेताहरू छान्नुपर्ने बेला आइसकेको अभिव्यक्ति दिए।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का स्थानीय किरण खड्गीले गगनकुमार थापा जस्तो युवा नेतालाई नजिताए देशले विकासमा उच्च लक्ष्य हासिल गर्न नसक्ने बताए। उनले महामन्त्री थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहँदा धेरै राम्रा कामहरू गरेकाले पनि प्रधानमन्त्रीको लागि योग्य भएको र युवालाई जिताउन आवश्यक भइसेकेको बताए।

त्यस्तै अर्की स्थानीय मञ्जु श्रेष्ठले स्वास्थ्यमन्त्री रहँदा महामन्त्री थापाले स्वास्थ्य बीमालगायतका धेरै राम्रा कामको थालनी गरेको भन्दै युवाहरूलाई देश विकासको लागि जिताउन आवश्यक रहेको बताइन्। उनले काठमाडौंका जनताले थापालाई जिताएर पठाउने तर प्रधानमन्त्रीका लागि भने पार्टीले के गर्छ भन्नेमा आशंका रहेको बताइन्।

त्यस्तै अर्का स्थानीय बाबुकाजी मुनिकारले विगतमा पनि महामन्त्री थापालाई भोट हालेको र निर्वाचन क्षेत्र र देश विकासका लागि काम गर्छु भन्ने संकल्प आफूसँग गरेकाले यसपटक पनि महामन्त्री थापालाई नै भोट हाल्ने बताए।

निर्वाचन आयोगले उम्मेदवारहरूलाई सभा, गोष्ठी, सेमिनारलगायतका चुनावी प्रचारप्रसारको समय दिएसँगै अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरू नागरिकको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूले नागरिकको घरघरमा पुगेर मत माग्ने क्रम जारी छ।

निर्वाचन आयोगले मंसिर २ गतेसम्म उम्मेदवारहरूलाई भोट माग्नका लागि गोष्ठी, सेमिनार, सभा गर्न समय उपलब्ध गराएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर