काठमाडौंका १० निर्वाचन क्षेत्र : हेभिवट प्रतिस्पर्धा, कोको छन् जोखिममा ?

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशकै राजधानी रहेको काठमाडौंमा कुन कुन उम्मेदवार विजयी होलान् भन्ने चासो सबैमा छ । राजधानी भएकाले पनि काठमाडौंमा आफ्नो प्रभाव जमाउन पनि राजनीतिक दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । यहाँका निर्वाचन क्षेत्रमा पनि १, २, ४, ५, ६, ८ नम्बरका क्षेत्रमा हेभिवट र स्वतन्त्रको प्रतिस्पर्धाले झनै रोचक बनाएको छ ।

काठमाडौं क्षेत्र नं. १
सानो भूगोल तर धेरै जनसंख्या रहेको काठमाडौं–१ मा नयाँ प्रतिस्पर्धीको ‘इन्ट्री’ले चुनाव रोचक हुने भएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका प्रकाशमान सिंह उम्मेदवार छन् । उनी यस क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार सांसद चुनिएका थिए । यसपटक चौथो जितको खोजीमा उनी मैदानमा छन् । गठबन्धनका कारण सिंहलाई अझ सहज भएको छ ।

उनको मुख्य प्रतिस्पर्धीमा छन्, एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्र । मिश्र यसअघिको चुनावमा सिंहसँग ८ सय मतान्तरले पराजित भएका थिए । पहिले विवेकशील साझामा रहेका उनी राप्रपा प्रवेश गरेर चुनावमा उठेका हुन् । युवा राजनीतिबाट उदाएका पौडेल एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष हुन् । उनीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र स्वतन्त्रतर्फ पूर्वडीआईजी रमेश खरेलले चुनौती दिने भएका छन् ।

काठमाडौं क्षेत्र नं. २
नयाँ नयाँ उम्मेदवार आइराख्ने काठमाडौं क्षेत्र नं. २ मा यसपटक सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती उम्मेदवार छिन् । २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका माधवकुमार नेपाल सो क्षेत्रमा विजयी भएका थिए । नेपालले १२ हजार चार सय ६३ मतान्तरले कांग्रेसका उम्मेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार तीन सय ६६ मत प्राप्त गरेका थिए ।

गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले पाँच, एमालेले दुई र एकीकृत समाजवादीले एक वडामा जीत हासिल गरेका छन् । शिक्षण पेस छाडेर २०७४ सालमा चुनाव लडेका फुयाल वाग्मती प्रदेशसभाका सांसद हुन् । राप्रपाकी उम्मेदवार पोखरेल विभिन्न धार्मिक तथा सामाजिक अभियानसँग जोडिएकी व्यक्ति हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विभिन्न सामाजिक अभियान संलग्न अधिवक्ता हुन् । यो क्षेत्रमा एकपटक बाहेक हरेक निर्वाचन वामपन्थी दलले जितेका छन् ।

काठमाडौं क्षेत्र नं. ३
यस क्षेत्रमा कुनै पनि राजनीतिक दलहरुबीच गठबन्धन छैन । एमालेबाट उम्मेदवार कृष्णबहादुर राई यही क्षेत्रका निवर्तमान सांसद हुन् । उनलाई कांग्रेसका सन्तोष चालिसेले चुनौती दिने भएका छन् । माओवादी केन्द्रबाट बद्रिप्रसाद बजगाईं उम्मेदवार छन् । भागबण्डामा कुरा नमिलेपछि माओवादी पनि मैदानमा ओर्लिएको हो ।

कांग्रेस उम्मेदवार चालिसे यसअघि गोकर्णेश्वर नगरपालिकाको मेयर थिए । उनी हाल कांग्रेसको क्षेत्रीय कार्यसमितिको सभापति समेत हुन् । राई आफूले पाँच वर्षसम्म प्रतिनिधिसभा सदस्यको भूमिका राम्रोसँग निभाएको भन्दै त्यसको मूल्यांकन हुने दाबी गर्छन् ।

काठमाडौं क्षेत्र नं. ४
काठमाडौंलाई मात्र नभई देशभरबाट नै नजरमा रहने अर्को क्षेत्र हो, काठमाडौं–४ । यस क्षेत्रबाट चुनाव जित्दै गगन थापालाई यसपटक पनि एमालेका राजन भट्टराईको नै चुनौती छ । गत निर्वाचनमा भट्टराईलाई नै पराजित गरी थापा सांसद चुनिएका थिए ।

त्यतिबेला भट्टराई वाम गठबन्धनबाट उम्मेदवार थिए । तर, यसपटक त्यो फाइदा सत्ता गठबन्धनका थापालाई छ । यद्यपि, यो क्षेत्रको स्थानीय तहमा भने एमालेकै वर्चस्व छ । तर, केन्द्रको चुनावमा भने थापा हावी हुँदै आएका छन् । पछिल्लो समय पार्टीको महासचिवमा चयन भएका थापाले आफ्नो क्षेत्रमा मात्र नभई देशैभर नै हाइट बढाएका छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा पनि दाबी गर्दै आएका छन् । यसपटक पनि थापा र भट्टराईबीच नै कडा प्रतिस्पर्धा हुने भएको छ ।

काठमाडौं क्षेत्र नं. ५
युवा र पुराना नेताबीच प्रतिस्पर्धा हुन लागेको क्षेत्र हो, काठमाडौं–५ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् भने उनका मुख्य प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेल छन् । स्थापित नेता पोखरेल यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यता, पौडेलको भने यो पहिलोपटक प्रतिनिधिसभाको निर्वाचन अनुभव हो ।

गत स्थानीय तहको चुनावको नतिजामा एमाले अगाडि छ । तर, युवा नेता भएकाले पौडेलप्रति जनमत आकर्षित छ । उनीहरुलाई चुनौती दिँदै छन् स्वतन्त्र उम्मेदवारहरु रञ्जु दर्शना र श्री गुरुङ लगायत । यी स्वतन्त्र उम्मेदवारहरुले पनि मुख्य पार्टी कांग्रेस र एमालेको मत काट्ने देखिन्छ ।

काठमाडौं क्षेत्र नं. ६
काठमाडौंमा ठूला दललाई स्वतन्त्रको चुनौती छ । कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने भए पनि स्वतन्त्रलाई जाने मतले हार हुने हो कि भन्ने भयमा मुख्य दलका उम्मेदवार रहेका हुन् । यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका भीमसेनदास प्रधान उम्मेदवार छन् । प्रधान यहाँबाट लगातार सांसद बन्दै आएका छन् । उनलाई यसपटक चुनौती दिँदै छन्, एमालेमा नवप्रवेशी सर्वेन्द्र खनालले । पूर्वआईजीपी खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य साथ छ ।

उनीहरुलाई स्वतन्त्रहरु रास्वपाका शिशिर खनाल, जसपाका मनोज आचार्य, राप्रपाका विष्णुप्रसाद आचार्य लगायतले चुनौती दिँदै छन् । प्रधानम दुई पटकसम्म सांसद, मन्त्रीका रूपमा परीक्षण भइसकेका व्यक्ति हुन् । अर्कोतर्फ खनालको पृष्ठभूमि पनि विवादित छ । त्यसैले मतदाताले नयाँ अनुहारको खोजी गरिराखेको स्वतन्त्र उम्मेदवारहरूको तर्क छ ।

काठमाडौं क्षेत्र नं. ७
यस क्षेत्रमा नयाँ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई माओवादी केन्द्रको चुनाव चिह्न लिएर मैदानमा छिन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषीले एमालेका एमालेका श्यामकुमार घिमिरेलाई चुनौती दिने भएकी छन् । यही क्षेत्रबाट जसपाका राजेन्द्रप्रसाद श्रेष्ठ पनि उम्मेदवार छन् ।

२०७४ निर्वाचनमा एमालेबाट रामवीर मानन्धर निर्वाचित भएका थिए । उनले आठ हजार २३ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रमबहादुर थापालाई पराजित गर्दै १८ हजार एक सय दुई मत प्राप्त गरेका थिए । पूर्व सांसद मानन्धर स्वतन्त्र रुपमा घण्टाघर चुनाव लिएर चुनावी मैदानमा छन् ।

काठमाडौं क्षेत्र नं. ८
यस क्षेत्रमा नयाँ पार्टीका उम्मेदवारका कारण चुनाव रोचक हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा एसका जीवनराम श्रेष्ठ उम्मेदवार छन् । उनका प्रतिस्पर्धीमा एमालेका शिवसुन्दर राजवैद्य, राप्रपाका प्रकाश रिमाल, हाम्रो नेपाली पार्टीका सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ छन् ।

यसअघिको निर्वाचनमा एमालेबाट श्रेष्ठले कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए । गत वैशाखको स्थानीय तहको निार्वचनमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सामयीको रैथाने नेवार समुदायमा राम्रो पकड बन्दै गएको छ । अर्का प्रभावशाली उम्मेदवार हुन् विराजभक्त श्रेष्ठ । यसअघि विवेकशील साझा पार्टीबाट वाग्मती प्रदेश सांसद रहेका उनले पनि आफ्नो पकड बढाउँदै लगेका छन् । त्यसैले पनि यो क्षेत्रको निर्वाचन परिणाम जो कसैको पक्षमा आउने देखिन्छ ।

काठमाडौं क्षेत्र नं. ९
यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यही क्षेत्रका निवर्तमान सांसद तथा पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ एमालेबाट उम्मेदवार छन् । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला र २०७४ को निर्वाचनमा तेस्रो स्थानमा रहेका साझा पार्टी नेपालका मिलन पाण्डे मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

लामो समयदेखि राजनीतिमा रहेका श्रेष्ठलाई नयाँ नेताहरुले चुनौती दिएका हुन् । गठबन्धनबाट उम्मेदवार बनेकी धमला २०६४ मा धादिङ २ बाट निर्वाचित भएकी हुन् उनी विज्ञान तथा प्रविधिमन्त्री रहिसकेकी छन् । काठमाडौं ९ मा काठमाडौं महानगरपालिका, चन्द्रागिरी र नागार्जुन नगरपालिकाका केही वडाहरू पर्छन् ।

काठमाडौं क्षेत्र नं. १०
यस क्षेत्रमा पनि सत्ता गठबन्धन हुन सकेको छैन । यहाँ कांग्रेसका राजेन्द्रकुमार केसी, माओवादी केन्द्रबाट अन्जना विशंखे र एमालेबाट हिमेश केसी उम्मेदवार छन् । केसी यही क्षेत्रका निवर्तमान सांसद हुन् । २०७० र २०७४ मा समेत प्रत्यक्ष चुनाव जितेका केसीलाई समानुपातिकबाट माओवादीबाट सांसद बनेकी विशंखेले टक्कर दिन लागेकी छन् । एमालेका उम्मेदवार ३९ वर्षीय युवा नेता केसीलाई लामो युवा संघदेखि र पार्टीको विभिन्न जिम्मेवारी सम्हालेको अनुभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर