माओवादी पेण्डुलम भइसक्यो : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)लाई ‘पेण्डुलम पार्टी’को संज्ञा दिएका छन्।

अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मूल रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस पार्टी मात्रै हुने बताएका हुन्।

उनले नेकपा (माओवादी केन्द्र) अबको केही वर्षभित्र पेण्डुलम बनेर एकअर्काको पछि लाग्ने वा विलय हुने बताए। उनले ३ पार्टीमध्ये दुई पार्टी एमाले र कांग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए। उनले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र कांग्रेसलाई जति गाली गरे पनि प्रचण्डपथमा नै हिँडेको बताए।

उनले देशको धर्म, संस्कृति, अस्तित्व, स्वाभिमान, भूगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताए। उनले आसन्न निर्वाचनबाट राप्रपाले प्रगतिशील जगमा देशलाई रूपान्तरण गर्ने बताए।

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका वरिष्ठ उपाध्यक्ष मिश्रले कांग्रेस नेता स्व. गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबीसमेत गरे। उनले संघीयता देशको लागि उपयुक्त नभएको उल्लेख गर्दै संघीयतालाई जतिसक्दो चाँडो खारेज गर्नुपर्ने माग गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *