आगामी निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र होइन : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनका लागि भएको बताएका छन्।

पाँच दलीय गठबन्धन चुनाव प्रचार–प्रसार समिति कास्कीद्वारा आज आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा नेता श्रेष्ठले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र नभएको उल्लेख गरे। ‘बाह्र बुँदे सम्झौताअनुसार बेपत्ता र द्वन्द्वपीडिलले अझैसम्म क्षतिपूर्ति पाउन सकेका छैनन, उनीहरूको माग सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म पनि रहने छ।’

शान्ति, समृद्धि र लोकतन्त्रको पक्षमा पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि बन्ने पाँच दलीय गठबन्धनको सरकारले विगतका गल्ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताए। लोकतन्त्रको अभिन्न अङ्ग निर्वाचन भएकाले सबै नेपाली यसमा होमिएका उनको भनाइ थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको वर्तमान सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पनि सफलरूपमा सम्पन्न गर्न अगाडि बढेको बताए। पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म पनि कायमै रहने उनको भनाइ थियो।

लोकतन्त्र र संविधानको रक्षा, समृद्धि र स्थिर सरकारको निम्ति पाँच दलीय गठबन्धन एउटै पार्टी जस्तै बनेकाले गठबन्धनमा आबद्ध सबै दलले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्नसमेत महरले आग्रह गरे।

नेकपा (एकीकृत समाजवादी) कास्कीका उपाध्यक्ष पूर्ण लामाले आगामी निर्वाचनमा अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार विजयी हुने भएकाले देशलाई समृद्धितर्फ कसरी अगाडि बढाउने भन्नेबारेमा सोच्न जरुरी भएको बताए।  उनले कास्कीमा प्रतिनिधि सभा तथा प्रदेश सभाका नौवटै सिटमा गठबन्धनका उम्मेदवार विजय हुने दाबी गरे।

नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेसका युवा नेता गङ्गाधर पराजुलीलगायतले आफ्नो विचार व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर