मतदाता शिक्षाका लागि खटिएका स्वयंसेविका भन्छन्, ‘परिचयपत्र नहुँदा काम गर्न गाह्रो भयो’

मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौंमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफूहरूलाई काम गर्न कठिन भइरहेको बताएका छन्।

आइतबार बिहान काठमाडौंको नक्सालमा घरदैलो गरिरहेका उनीहरूले परिचयपत्र नभएका कारण आफूहरूलाई मतदाता शिक्षा दिने काममा कठिनाइ भइरहेको प्रतिक्रिया दिएका हुन्। तत्काल सो परिचयपत्र उपलब्ध गराई मतदाता शिक्षा कार्यक्रमलाई सहज बनाउने काममा सहयोग गर्न उनीहरूले निर्वाचन आयोगसँग मागसमेत गरेका छन्।

परिचयपत्र नभएकाले आफूहरूलाई मतदाताहरूले घरको गेटसमेत नखोलिदिने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १ की महिला स्वास्थ्य स्वयंसेविका शर्मिला मानन्धरले प्रतिक्रिया दिइन्। उनले परिचयपत्रको नहुँदा काम गर्न कठिनाइ भएको उल्लेख गर्दै तत्काल परिचयपत्रको व्यवस्था गरिदिन पनि निर्वाचन आयोगसँग माग गरिन्।

मतदाताहरूमा भोट हाल्न जाने कुरामा उदासीनता पाइएको पनि महिला स्वास्थ्य स्वयंसेविकाहरूको बुझाइ छ। भोट होलेर के हुन्छ भनेर मतदाताहरू मत हाल्न नै अनिच्छुक देखिएको पनि महिला स्वास्थ्य स्वयंसेविका मानन्धरले बताइन्।

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सबै वडाहरूमा सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। जसअनुसार वडासचिवको नेतृत्वमा बनाइएको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि महिला स्वास्थ्य स्वंमसेविकाहरू घरघरमा पुगिरहेको काठमाडौं महानगरपालिका वडा नम्बर १ का सहायक वडासचिव सर्वज्ञराज पौडेलले जानकारी दिए।

मतदाता शिक्षा कार्यक्रम देशभर गत कात्तिक १८ गतेबाट सुरु भएको छ। यो कार्य मंसिर १ गतेसम्म चल्ने पनि सहायक वडासचिव पौडेलले बताए। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अब ७ दिन मात्रै बाँकी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर