उम्मेदवारको पक्ष वा विपक्षमा उभिने स्थानीय प्रशासनमाथि कारबाही गर्ने आयोगकाे चेतावनी

निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष वा विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन्।

उनले स्थानीय प्रशासनका कर्मचारीहरूले चुनावलक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरूसँग पक्ष वा विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले कुनै पनि स्थानीय प्रशासनहरू उम्मेदवारहरूको पक्ष वा विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यामहरूलाई आग्रह गरे।

उनले निर्वाचनलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने बताए।स्थानीय तहमा कार्यरत कर्मचारीहरू कामको सिलसिलामा राजनैतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकाले निर्वाचनको समयमा पक्ष वा विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताए। आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको गतिविधिमा सूक्ष्म ढंगले निगरानी राखेको पनि बताए।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिने पनि बताएको छ। आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई तत्काल कारबाही गर्न आयोग सचेत रहेको बताए। अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारहरूले आचारसंहिता उल्लंघनको घटना बढाउन सक्ने आकलन गरी आयोगले सोहीअनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि बताए।

निर्वाचन आयोगले गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको बताएको छ। निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको पनि बताए।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *