भक्तपुरमा उम्मेदवारहरूको चुनावी घरदैलो (तस्बिरहरू)

मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरूले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उमेदवारहरू पनि पुरानै आश्वासन बोकेर मत माग्न घरदैलोमा व्यस्त छन्। उम्मेदवारहरूको घरदैलोमा स्थानीय किसानहरूले भने मल नपाएको गुनासो गरेका छन्।

अहिले देशभरका उम्मेदवारहरू आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौडधुप गरिरहेका बेला भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा पनि चुनावी चटारो राम्रै देखिन्छ। विभिन्न राजनीतिक दल र स्वतन्त्र उमेदवारहरू मतदाताको घरघरमा पुगेर आफूले जिते सडक, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतको व्यवस्था गरिदिने भन्दै पुरानै आश्वासनका साथ मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन्।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आधार क्षेत्रका रूपमा चिनिने यस क्षेत्रमा पार्टी केन्द्रीय सचिव प्रेम सुवाल दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् भने सत्ता गठबन्धनबाट सुनिल गोठे र नेकपा (एमाले)बाट नवराज गेलाल मैदानमा छन्।

गत निर्वाचनमा नेमकिपाका सुवालले ३३ हजार ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बाबुबाजा जोशीले १७ हजार ८ सय १८ मात्रै मत प्राप्त गरेका थिए। वाम गठबन्धनका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए।

यो निर्वाचनमा पनि सत्ता गठबन्धन र एमालेसामु नेमकिपा प्रमुख चुनौती देखिए पनि उम्मेदवारहरूले यस पटक मतदाताले नयाँ पार्टी रोज्ने बताइरहेका छन्।

भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा चार जना स्वतन्त्रसहित कुल १४ जना उम्मेदवारहरू मैदानमा छन्। प्रदेश सभातर्फ भने क्षेत्र–१ (ख) नेमकिपाकै प्रभाव क्षेत्र देखिए पनि क्षेत्र–१ (क) मा भने अवस्था कमजोर छ। क्षेत्र–१ (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाईं दोस्रो कार्यकालका लागि मैदानमा छन् भने क्षेत्र–१ (क) मा नेमकिपाका मीनबहादुर बाटा मैदानमा छन्।

क्षेत्र–१ (क) मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश श्रेष्ठ, एमालेबाट मोहनवीर श्रेष्ठलगायत १८ जना मैदानमा छन्। उनीहरू प्रायः सबैले नगरकोट सडकखण्ड स्तरोन्नतिको कामदेखि स्वास्थ्य, शिक्षा खानेपानीलगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने भन्दै मतदातासामु हारगुहार गर्दै आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

यता उमेदवारहरू पुरानै आश्वासन लिएर मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम प्रचारप्रसारमा जुटिरहेका बेला यस क्षेत्रका स्थानीय किसानहरूले भने मल नपाएको दुखेसो गरेका छन्। अधिकांश मतदाताहरूले सबैजसो दल र उम्मेवारहरूप्रति वितृष्णा व्यक्त गर्दै धान रोप्ने समयमा नपाएको मल गहुँ लगाउने मध्य सिजनमा समेत नपाएको गुनासो गरेका छन्।

भक्तपुरका किसानहरूले हाल बजारमा रासायनिक मलमा प्रतिबोरा २७ सय रुपैयाँसम्म तिर्न बाध्यता रहेका बताएका छन्। कतिपय किसानले पैसा तिर्दासमेत मल पाउन नसकेको दुखेसो गरेका छन्।

हेर्नुस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर