आमनिर्वाचन-२०७९

बागमती प्रदेशमा यी हुन् मुख्यमन्त्रीका दाबेदार

राजधानी काठमाडौं समेटिएको बागमती प्रदेशमा आगामी चुनावबाट भावी मुख्यमन्त्री को होला भन्ने चर्चा सुरु भएको छ । देशको प्रमुख क्षेत्र समेटिएको ठूलो प्रदेश बागमतीमा दलहरुले आफ्नो पकड बनाउन पनि प्रतिस्पर्धा हुने देखिएको हो ।

यहाँ पनि सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी केन्द्र र नेकपा एसकै उम्मेदवारले आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गर्दै मत मागिरहेका छन् । हालसम्म दलहरुबीच भागबण्डा नभइसकेकाले र चुनावी अंकगणित प्रस्ट नभएकाले यो प्रदेश कुल दलको भागमा पुग्छ भन्ने टुंगो लाग्न सकेको छैन ।

पहिलो ५ वर्षे कार्यकालमा भने यहाँ वाम गठबन्धनका तर्फबाट एमालेका डोरमणि पौडेलले मुख्यमन्त्री बन्ने सौभाग्य पाएका थिए । तर, तत्कालीन नेकपामा आएको विभाजनपछि अष्टलक्ष्मी शाक्य छोटो समय मुख्यमन्त्री भइन् ।

शाक्यले एमाले नछोडेपछि भने नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बने । हाल पौडेल र शाक्य चुनावी प्रतिस्पर्धामा छैनन् भने पाण्डे धादिङ–२ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् ।

यो पटक कांग्रेसका उम्मेदवार इन्द्र बानियाँले आफूलाई मुख्यमन्त्रीको रुपमा दाबेदारी प्रस्तुत गर्दै उम्मेदवारी दिएका छन् । बानियाँ पहिलो कार्यकालमा नै मुख्यमन्त्री बन्ने दौडमा थिए । तर, सत्ता गठबन्धनका कारण नेकपा एसले भाग पाएपछि उनी पछि परे । आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भए पनि पाण्डेले सरकार छोड्न मानेका थिएनन् ।

यसपटक यहाँ कांग्रेसले भाग पाए उक्त पार्टीको बानियाँ निर्विकल्प मुख्यमन्त्रीका दाबेदार हुन् । मकवानपुर–२ (२) बाट उम्मेदवार बनेका उनी यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट जितेका थिए । यद्यपि, कांग्रेसकै उम्मेदवार आनन्दराम पराजुली पनि पनि मुख्यमन्त्रीका आकांक्षी छन् । उनी मकवानपुर–१ (२) बाट उम्मेदवार छन् ।

सत्ता गठबन्धनकै अर्को पार्टी माओवादी केन्द्रका शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्रीको दौडमा छन् । उनी हाल प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री छन् । प्रदेश सरकारको गठनसँगै उनी सत्ता निकट नै छन् । उनी धादिङ–१ (२) बाट उम्मेदवार छन् । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित थिए ।

नेकपा एसबाट भने यसपटक कृष्णप्रसाद खनाल मुख्यमन्त्रीको दाबेदार छन् । उनी हाल आन्तरिक मामिला तथा कानूनमन्त्री छन् । नजाल चितवन–१ (२) बाट उम्मेदवार छन् । एमालेबाट चितवनका देवी ज्ञवाली मुख्यमन्त्रीको दाबेदार छन् । उनी २०७४ सालको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेणु यादवसँग पराजित भएका थिए । उनी चितवन–२ (२) बाट उम्मेदवार छ ।

११० सदस्यीय बागमती प्रदेशमा यसअघिको निर्वाचनमा एमालेले बहुमत हासिल गरेको थियो । बहुमतका लागि आवश्यक सदस्य ५६ रहेकोमा एमालेले ५८, कांग्रेसले २१, माओवादीले २३, विवेकशीलले ३, राप्रपाले १, राप्रपा प्रजातान्त्रिकले १, नेमकिपाले २ र नयाँ शक्तिले १ सिट जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *