आमनिर्वाचन-२०७९

देशभरका निर्वाचन क्षेत्रमा शुक्रबार राति चलेको ‘मनी अवधि’

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन भोलि (आइतबार) एकैचरणमा हुँदैछ। निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको छ। विगतमा यस समयलाई ‘मौन अवधि’ भन्ने गरिएकोमा निर्वाचन आयोगले यसपल्ट ‘स्थिर समय’ भनेको छ।

यो अवधि सुरु भएको ४८ घण्टाअघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म लागू रहन्छ। यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ। यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन।

यसैगरी मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ। स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन।

तर, राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारहरू विगत दिनमा भन्दा स्थिर समय भनिएको मौन अवधिमा भने झनै सक्रिय भएका छन्। उनीहरू मतदातालाई पैसा वितरण गरेर आफू र आफ्ना उम्मेदवारलाई भोट मागिरहेका छन्।

शुक्रबार राति भएका घटनाले मतदातालाई दल र उम्मेदवारले आर्थिक प्रलोभनमा पार्न गरेको प्रयास छताछुल्ल भएको छ।

मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेश सभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित शुक्रबार राति ३ जनालाई पक्राउ गर्‍याे।

निराैलासहित बूढानीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बूढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोल पक्राउ परेका हुन्। उनीहरू हात्तीगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन्। काठमाडौं–५ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन्।

यो घटनापछि मध्यरातमा पनि सामाजिक सञ्जाल सक्रिय रह्यो। एकपछि अर्को गर्दै पैसा बाँडेका घटनाहरू बाहिरिन थाले। काठमाडौं–५ को घटनापछि राति अबेरसम्म प्रहरी प्रभाग बूढानीलकण्ठ तनावग्रस्त रह्यो। पक्ष र विपक्षमा नाराबाजी भयो। एमालेका प्रदेश सभा उम्मेदवार निरौलाको उम्मेदवारी खारेजीको माग गर्दै युवाहरू प्रदर्शनमा उत्रिए। पक्राउ परेकाहरू भने राति नै छुटिसकेका छन्।

त्यहीबीच विज्ञप्तिबाजीको खेल सुुरु भयो। एमाले काठमाडौं–५ को निर्वाचन परिचालन कमिटीले मध्यराततिर विज्ञप्ति निकालेर पक्राउ परेका आफ्ना उम्मेदवार र कार्यकर्ताको बचाउ गर्दै राज्य संयन्त्र दुरुपयोग गरी आफ्ना उम्मेदवारको चरित्रहत्या गर्न खोजिएको भन्दै त्यसको खण्डन गर्‍याे।

त्यसैगरी गएराति नै महोत्तरीको क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जन डेढ लाख नगदसहित पक्राउ परे। उनी चढेको गाडीमा डेढ लाख नगद फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

उम्मेदवार योन्जनले आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएको भन्दै प्रहरीले पक्राउ गरेको हो।

यस्तै जाजरकोटमा मतदातालाई एमाले कार्यकर्ताले बाँड्न लागेको ८४ हजार रुपैयाँ सत्ता गठबन्धनका कायकर्ताले कब्जामा लिए। एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न भन्दै कुशे गाउँलिकाको पैँकमा चार युवाले बाँड्न लागेको उक्त रकम सत्ता गठबन्धनका कार्यकर्ताले कब्जामा लिएका हुन्।

शुक्रबार रातिका घटनाले मतदानकै दिनसम्म आर्थिक चलखेल हुने संकेत गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर