मतदानका लागि गाउँ फर्किनेहरू भन्छन्- ‘युवालाई नेतृत्वमा ल्याउनुपर्छ’

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरूबाट घर फर्किने मानिसहरूको चहलपहल तिब्र बनेको छ। भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरू कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रूहरूको चहलपहल तिब्र बनेको हो।

मंसिर ४ गते आईतवार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको संख्या उल्लेख्य देख्न सकिन्छ। काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरूले यसअघि नेताहरूले आफूले गरेका प्रतिवद्धता पूरा नगरेको र विकासका कामहरू पनि गर्न नसकेको बताए।

उनीहरूले देश विकासका लागि भन्दा आफ्ना आफन्तहरूको भरपोषण मात्रै गरेको उनीहरूको गुनासो छ। धादिङका वासिन्दा लालबहादुर लामा भोट हाल्नको जिल्ला जाने तरखरमा शनिवार बिहानै कोटेश्वरमा गाडी कुरिरहेका थिए। उनले नेताहरूले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताए। त्यस्तै काभ्रेपलाञ्चोकका विजय क्षेत्री अबको निर्वाचनमा सक्षम युवाहरूलाई देश विकासको अवसर दिनुपर्ने बताउँछन्। अहिलेका राजनीतिक दल र नेताहरूको काम नगर्ने शैलीप्रति असन्तुष्ट उनले युवाहरूमा नै अब देश विकासको आशा रहेको बताए।

त्यस्तै रामेछाप मतदानका लागि जान लागेका रामजी खड्का विकास गर्न सक्षम युवाहरूलाई जिताउन आवश्यक रहेको बताए। उनी पनि अहिलेको राजनीतिक दल र नेताहरूप्रति असन्तुष्ट नै थिए। त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका गौरीशंकर गौतमको भनाइ पनि युवाहरूको भन्दा फरक छैन। उमेरले ७) नाघिसकेका उनी युवाहरूले मात्रै अब देश विकास गर्नसक्ने बताउँछन्। नेतृत्व गर्ने ठाउँमा युवाहरू गए मात्रै देशले विकास पाउनसक्ने उनको भनाइ थियो।

शनिबार बिहान कोटेश्वर क्षेत्रमा उल्लेख्य मात्रामा मानिसहरू मतदानका लागि गाउँ फर्किने तयारीमा गाडी कुरिरहेका थिए। केही राजनीतिक दलका नेताहरूले पठाएको सवारीसाधनमा गाउँ जान लाग्दै थिए भने कोही आफ्नै खर्चमा मौलिक अधिकार मतदानका लागि गाउँ फर्किने तयारीमा देखिन्थे।

अधिकांश जनताहरूले यसपटक विकासका कामलाई अघि बढाउनसक्ने नेतृत्वको खोजि गरेका छन्। आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरू अघि बढाउन आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर