आमनिर्वाचन-२०७९

प्रधानमन्त्री देउवाकाे गृहजिल्लामा यस्ताे छ सुरक्षा रणनीति

निर्वाचनलक्षित सुरक्षाका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलक्षित सुरक्षाका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ ।

“तीन वटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेनाले सुरक्षा दिइरहेका छन्,” उनले भने ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार निर्वाचनका लागि ‘मोबाइल टिम’ पनि परिचालन गरिएको छ । साथै ‘रिजर्भ टिम’ तयार पारिएको छ ।

“रिजर्भ टिम आवश्यकता अनुसार मात्रै परिचालन हुनेछ,” उनले भने ।

डडेल्धुरामा १०१ मतदानस्थल छन् । ती स्थलमध्ये २३ अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्य रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्री र सुरक्षाकर्मीसहितका कर्मचारी पुगिसकेका छन् ।

“कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक पनि भइसकेको छ । बुथ निर्माणको कार्य पनि सुरु भइसकेको छ । भोलिसम्म सबै तयारी पूरा हुन्छ,” उनले भने ।

एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सातदेखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री देउवासहित आठजना उमेदवार छन् । यस्तै, दुई प्रदेश सभातर्फ १२ जना उमेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर