विवादले दर्जनौं स्थानमा निर्वाचन अवरुद्ध, २ सयभन्दा बढी पक्राउ

निर्वाचन आयोगले मध्याह्नसम्म देशभरका करिब एक दर्जनभन्दा बढी स्थानमा मतदान स्थगित भएको जनाएको छ । कतै स्थगित भएका स्थानमा भने पुनः मतदान सुरु भइसकेको आयोगले जनाएको हो ।

मतपेटिका साटिँदा, प्रतिनिधिसभा र प्रदेशसभाको मत खसाल्ने ठाउँबारे मतदाता झुक्किँदा, राजनीतिक दलका प्रतिनिधिहरुको विवाद र निर्वाचन बिथोल्न खोज्ने विभिन्न समूहका कारण ती स्थानमा मतदान स्थगित भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थगित स्थानमा पुनः मतदान गर्न प्रयास भइरहेको छ ।

नेपाल प्रहरीका अनुसार बिहान १० बजेसम्म ४४ स्थानमा विभिन्न कारणले निर्वाचन स्थगित भएको थियो भने ३३ ठाउँमा पुनः सुरु गरिएको थियो । उक्त समयसम्म निर्वाचनमा अवरोध हुने अवस्था आएपछि देशका १६ मतदानस्थलमा हवाई फायर गरिएको तर कोही पनि घाइते नभएको प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

निर्वाचन सुरु भएयता मध्याह्नसम्म निर्वाचन बिथोल्न खोज्ने २ सय जनाभन्दा बढी पक्राउ परेको उनले बताए । उनका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले नेकपा बहुमतको ४ जना कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।

पाल्पाको तानसेन नगरपालिका–६ जनप्रिय मावि मतदान केन्द्रमा पनि मतदान रद्द गरी फेरि थालिएको छ । समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेपछि मतदान रद्द भएको हो । रद्द हुनुअघि ६८ जनाले मतदान गरेको र उनीहरुलाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

गुल्मीको मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुनः मतदान सुरु गरिएको हो ।

बाजुराका ३ वटा मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा मतदान स्थगित भएको छ । बुढिगंगा नगरपालिका–८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।

झापाको एक मतदान केन्द्रमा १० वटा मतपत्र बदर गरिएको छ । झापा–४ शिवसताक्षी नगरपालिका–१० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा खसेको १० वटा मत बदर गरिएको हो । मतदाताले प्रतिनिधिसभा सदस्यतर्फको मतपत्र समानुपातिक मतपेटिकामा खसालेपछि केहिबेर मतदान अवरुद्ध भएको थियो । तत्कालै मतपेटिका खोलेर बाकसमा खसेको १० वटा मतपत्र बदर गर्ने निर्णयपछि पुनः मतदान सुरु भएको छ ।

संखुवासभाका २ वटा मतदान केन्द्रमा मतदान कार्यक्रम अवरुद्ध भएको छ । खाँदबारीको महेन्द्र मावि मतदान केन्द्र र चैनपुरको सरस्वती बिहिटिडाडा केन्द्रमा मतदान अवरुद्ध भएको हो । मतदान अधिकृतले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको मतपत्र दिएपछि विवाद भएको हो ।

दाङको तुलसीपुर–१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ग मा भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान गरिएको छ । सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र पठाइएको थाहा भएपछि मतदान स्थगन गरिएको थियो । ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले केन्द्रको पूर्वसहमति नलिईकन कुनै पनि स्थानको मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । छिटफुट अवरोधको अस्थामा समेत मतदान अधिकृतहरुले केही स्थानमा मतदान स्थगित गर्ने थालेपछि आयोगले यस्तो निर्देशन दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आइतबार ५ बजेसम्म मतदानको समय तोकिएकाले त्यो अवधिभित्र स्थगन नगर्न भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर