नेपालको राजदूतमा छन सोङलाई पठाउने चीनको तयारी

चीनले नेपालका लागि राजदूतमा छन सोङलाई पठाउने तयारी गरेको छ । चीनका वरिष्ठ कूटनीतिज्ञमध्येका एक छन हाल चिनियाँ विदेश मामिला मन्त्रालयमा उपमहानिर्देशक पदमा कार्यरत छन् । उनले नेपाल र अफगानस्तानसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आएका छन् ।

छनले नेपालमा होउ यान्छीको स्थान लिनेछन् । नेपालमा राजदूतको रूपमा चार वर्षे  कार्यकाल सकेर यान्छी गत २५ अक्टोबरमा स्वदेश फिर्ता भएकी थिइन् । उनी डिसेम्बर २०१८ मा नेपालका लागि चिनियाँ राजदूत नियुक्त भएकी थिइन् ।

उनको कार्यकालमा सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले राजकीय नेपाल भ्रमण गरेका थिए । त्यसबाहेक उनको कार्यकालमा नै नेपाल र चीनबीच महत्त्वपूर्ण सम्झौता र भ्रमणहरूसमेत भएका थिए ।

परराष्ट्र मन्त्रालय स्रोतले भने छनलाई राजदूतको रुपमा पठाउने चीनको तयारीबारे औपचारिक जानकारी नआइसकेको जनाएको छ । चीनले अनौपचारिक रुपमा भने यसबारे सम्पर्क गरेको परराष्ट्र स्रोतको भनाइ छ । छन नेपाल कूटनीतिक क्षेत्रमा परिचित अनुहार हुन् । नेपाल–चीनका विभिन्न बैठकमा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *