आमनिर्वाचन-२०७९

दुई पटक हारेकै क्षेत्रबाट चुनाव जित्ने को हुन् विश्वप्रकाश ?

विसं २०७० बाट संसदीय राजनीतिमा होमिएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यसपटक मात्रै निर्वाचित बन्न सफल भएका छन्।

दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्र झापा १ मा पराजित भएका शर्माले यसपटक भने नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन्।

शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा (एमाले) नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए।

दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यसपटक जित हासिल गरेका हुन्। झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार छ सय २४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का स्थायी कमिटीसमेत रहेका खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए। शर्मा र खरेलको मतान्तर १४ हजार दुई सय ७५ रहेको छ।

शर्माको राजनीतिक यात्रा

पर्शुराम र सावित्री शर्माका कान्छा छोरा हुन् विश्वप्रकाश। विसं २०२७ पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उनको जन्म भएको हो। विसं २०३७ देखि विद्यार्थी आन्दोलनमा होमिएका शर्मा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महामन्त्री हुँदै अध्यक्षसमेत भए। हाल उनी नेपाली कांग्रेसको महामन्त्री छन्।

सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा समेत पनि परिचित छन्। शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।। शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश छन्।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरे। उनी पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन्।

सामान्य परिवारमा जन्मेका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल परेका थिए। नेविसङ्घ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चालेका शर्माले नेविसङ्घ भद्रपुर क्याम्पसको सभापति बन्दै १२ औँ महाधिवेशनबाट नेविसङ्घ झापा सभापतिको जिम्मेवारी सम्हाल्दै राजनीतिमा अघि बढेका थिए।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गरेका शर्मा त्यसबेला उद्धव थापासँग २८० मतले पराजित भएका थिए। तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लागेका थिए।

विसं २०७० को संविधान सभा निर्वाचनमा पहिलो पटक सहभागी बनको शर्मा त्यसबेला नेकपा (एमाले) नेता कोइरालासँग पराजित भए। विसं २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का कार्कीसँग पराजित भएका शर्माले यसपटक नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य खरेललाई पराजित गरेका हुन्। शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित छन्। सानैदेखि विद्रोही स्वभावका शर्मा बिपीका सच्चा अनुयायी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *