प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, सरकार गठनबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका शीर्ष नेताबीच भेट भएको हो। आमनिर्वाचनको परिणाम आइरहँदा देउवा र प्रचण्डबीच भएको भेटलाई आगामी सहकार्यका रूपमा हेरिएको छ।

भेटमा चुनावको अहिलेसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

कांग्रेस र माओवादी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा गठबन्धन गरेर होमिएका थिए। अपेक्षाअनुसार नतिजा हासिल गर्न नसकेपछि माओवादी कांग्रेसको साथ छाडेर अरू दलसँग मिल्न जाने हो कि भन्ने आशंका गर्न थालिएको छ। एकल रूपमा कुनै पनि दलले बहुमत नपाउने निश्चित भएको छ।

यसअघि शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र देउवाले पालैपालो प्रचण्डलाई फोन गरेका थिए। एमाले अध्यक्ष ओलीले फेरि मिलेर जाऔं भन्ने प्रस्ताव प्रचण्डलाई गरेका थिए। पछि देउवाले प्रचण्डलाई सम्पर्क गरी गठबन्धनलाई अझै बलियो बनाएर लैजानुपर्ने बताएका थिए।

निर्वाचनमा हाेमिँदै गर्दा प्रचण्डले एमालेसँग कुनै हालतमा सहकार्य हुन नसक्ने बताउँदै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *